त्यसो त ललितपुरलाई काठमाडौं उपत्यकाको दोश्रो ठूलो जिल्ला मानिन्छ । यस जिल्लाको कुल क्षेत्रफल ३८५ बर्ग किलोमिटर छ । आफ्नो भूगोलको लगभग दुई तिहाइ , २३१ बर्ग किलो मिटर क्षेत्रफल भने उपत्यका बाहिर पर्छ । यो तथ्य धेरै चर्चा हुने गर्दैन । प्रशासनिक खर्च कटौती गर्ने उपाय स्वरुप नेपाल सरकार यतिबेला पालिका संख्या घटाउने तयारी गरि रहेको छ । सरकारको यो प्रयासको समर्थन र बिरोध दुबै हुने नै छन् । राजनितिक र प्रशासनिक इकाइहरु , औचित्य र आवश्यकताका आधारमा समय समयमा थपघट हुँदै आएका छन् । भै नै रहने छन् ।
ललितपुरमा हाल कायम रहेका पालिकाहरुले, नागरिकको आवश्यकता परिपुर्ति गर्ने , नागरिकलाई समृध्दिको दिशा तर्फ डोहोर्याउने , आफ्नै घर आगनमा नागरिकलाई संरक्षण गर्ने काम गर्न सके कि सकेनन ? सकेनन भने के कति कारणले सकेनन् ? अब के कस्तो प्रबन्ध गर्दा हेल्टारका नागरिक र कुपोन्डोलका नागरिकले एकसाथ घर दैलोको स्थानीय सरकार प्रती समान रुपमा बिश्वास र भरोषा गर्न सक्छन् ? स्थानीय तह पुनर्स्थापनाको लागि यो बिषय , छलफलको केन्द्रिय बिषय हुनुपर्छ । सिङ्गो ललितपुरलाई एउटै पालिका कायम गर्नुहोस् वा १० औं पालिकामा बिभाजन गर्नुहोस् । स्थानीय तहको मुल मर्म : आम नागरिकका समस्याको समाधान र उनिहरुको सेवा सुबिधाको सरोकारको सवाल हो ।
ललितपुरमा स्थानीय तहको पुनर्संरचना आवश्यक छ / छैन ? छ भने के / कति कारणले छ ? पुनर्संरचना जरुरी छैन भने किन जरुरी छैन ? पुनर्संरचना गर्दा पालिका संख्या घटाउने कि बढाउने ? भन्ने सवालमा छलफल गर्नु भन्दा अगाडि ललितपुरमा रहेका पालिकाहरुका भुगोल , जनसंख्या , आर्थिक अवस्था माथी बिचार गरौं । नागरिकका सामाजिक – आर्थिक सूचकांक बस्तुनिष्ठ मुल्यांकन हुनु जरुरी छ।
ललितपुरका पालिकाहरुको भुगोल , जनसंख्या ,र आर्थिक स्थिति
१) बागमती गाउँपालिका :
- क्षेत्रफल – १११.४९ बर्ग कि. मि (२८.१० %) एक बर्ग कि. मि मा १९६६.३२ रोपनी जग्गा हुन्छ ।
- जनसंख्या – ११,००० (२.०१ %)
- जनघनत्व – १०२ जना / बर्ग कि. मि ( एकजनाको लागि १९ रोपनी जमिन )
- बार्षिक बजेट – ६८ करोड ५७ लाख ( आ/ब २०८२/०८३)
- चालू खर्च – २८ करोड ६१ लाख
- पुजिगत खर्च -४० करोड
- आन्तरिक श्रोत – ३ करोड ५० लाख
- बिशेषता – ठूलो भुगोल , छरिएको बस्ती , आन्तरिक श्रोत नगन्य , पुगिगत खर्च अनुदानमा आश्रीत ।
२) गोदावरी नगरपालिका :
- क्षेत्रफल – ९६.११ बर्ग कि.मि (२४.२२%)
- जनसंख्या – ९७,००० (१७.९७ %)
- जनघनत्व – १०२० जना / बर्ग कि. मि (एक्जनाको लागि २ रोपनी जमिन)
- बार्षिक बजेट – २ अर्ब ३८ करोड १३ लाख
- चालू खर्च – १ अर्ब ६ करोड ४६ लाख
- पुजिगत खर्च – १ अर्ब ३१ करोड ६७ लाख
- आन्तरिक श्रोत – १ अर्ब ४ करोड १५ लाख
- बिशेषता – जग्गा कारोबार र पुर्बाधार उपयोग करबाट राम्रो आम्दानी। बलियो आन्तरिक श्रोत ।
३) महाङ्काल गाउँपालिका :
- क्षेत्रफल – ८२.४४ बर्ग कि. मि (२०.७७ %)
- जनसंख्या – ८,००० (१.४५ %)
- जनघनत्व – ९८ जना / बर्ग कि. मि ( एकजना बराबर २० रोपनी जमिन)
- बार्षिक बजेट – ५३ करोड
- चालू खर्च – ३५ करोड
- पुजिगत खर्च – १८ करोड
- आन्तरिक श्रोत – १ करोड २५ लाख
- विशेषता – ठूलो भुगोल , छरिएका बस्ति , आन्तरिक श्रोत नगन्य , न्यून पुजिगत खर्च ।
४) कोन्ज्योसोम गाउँपालिका :
- क्षेत्रफल – ४४.१६ बर्ग कि. मि (११.१३%)
- जनसंख्या – ९,००० (१.६५ %)
- जनघनत्व – २०४ जना / बर्ग कि. मि ( एकजना बराबर ९ रोपनी ८ आना)
- बार्षिक बजेट – ४५ करोड ५९ लाख
- चालू खर्च – २६ करोड ४४ लाख
- पुजिगत खर्च – १९ करोड १४ लाख
- आन्तरिक श्रोत – ३ करोड ५० लाख
- विशेषता – ठूलो भुगोल , छरिएको बस्ती , कमजोर आन्तरिक श्रोत , न्यून पुजिगत खर्च ।
५) ललितपुर महानगर :
- क्षेत्रफल – ३६.१२ बर्ग कि. मि ( ९.१० %)
- जनसंख्या – २,९४,००० (५४.१३ %)
- जनघनत्व – ८१४२ जना / बर्ग कि. मि (एकजना बराबर ३ आना २ पैसा जमिन)
- बार्षिक बजेट – ७ अर्ब ४७ करोड ४१ लाख
- चालू खर्च – २ अर्ब ८३ करोड ४६ लाख
- पुजिगत खर्च – ४ खर्ब ६३ करोड ९४ लाख
- आन्तरिक श्रोत – ३ अर्ब ८५
- बिशेषता – बिकसित पुर्बाधार , मनग्य आन्तरिक श्रोत ।
६) महालक्ष्मी नगरपालिका :
- क्षेत्रफल – २६.५० बर्ग कि. मि (६.६८ %)
- जनसंख्या – १,२३,००० (२२.६६ %)
- जनघनत्व – ४६४४ जना / बर्ग कि. मि (एकजना बराबर ६ आना जमिन)
- बार्षिक बजेट -२ अर्ब ४२ करोड ४६ लाख
- चालू खर्च – १ अर्ब ४६ करोड १५ लाख
- पुजिगत खर्च – ९४ करोड
- आन्तरिक श्रोत – ७२ करोड
- विशेषता – बिकसित पुर्बाधार र मध्यम आन्तरिक श्रोत।
तथ्य र तथ्यांकले देखाउछ , दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकाले तलितपुरको ६० % भुगोल ओगटेका छन् । कुल भुगोलको ६० % क्षेत्रफल ओगटेका गाउँपालिकामा आजको दिनमा ललितपुरको जम्मा जम्मी ५.११ % ( ३३ हजार सात सय मानिस ) जनसंख्या मात्रै बसोबास गर्छन् । पेशा रोजगार र पढ्नको लागि थात थलो छोडेकाहरुको हिसाब गर्ने हो भने अझ यो संख्या निकै तल झर्छ । अर्को तर्फ कुल भुगोलको ४० % क्षेत्रफल रहेको शहरी क्षेत्रमा ९४.८९ % (५ लाख २० हजार ) जनसंख्या बसोबास गर्छ । शहरी सुबिधा , पेशा रोजगार र अध्ययनको लागि अस्थायी बसोबास गरि रहेको संख्यालाई जोड्ने हो भने यो संख्या तीन गुणाले बेसि हुने देखिन्छ ।
पर्यटन , औधोगिक क्षेत्र र ब्यापारको केन्द्र रहेको ललितपुर महानगरको आन्तरिक श्रोत ३ अर्ब ८५ करोड देखीइ रहदा , ढुङ्गा क्रसरको हब गोदावरी नगर १ अर्ब ४ करोड आन्तरिक श्रोत सहित महानगरलाई पछ्याइ रहेको देखिन्छ । शहरी क्षेत्रको अर्को नगरपालिका महालक्ष्मी नगर भने जम्मा जम्मी ७२ करोड हाराहारी आन्तरिक श्रोतमा सिमित भएको देखियो । साथै महालक्ष्मीमा पुजिगत खर्च पनि गोदावरिको भन्दा सानो रहेको बजेटले प्रष्ट देखायो ।
औद्योगिक बिकास र व्यापार , अर्थतन्त्रको मेरुदण्ड भएको तथ्य र तथ्यांकले प्रष्ट्याएको छ । ती जो पालिका , जसले औद्योगिक बिकास गर्यो , ती धनी छन् भने , एउटै भुगोल र परिस्थितिमा भएको उस्तै अर्को छिमेकी पालिका तुलनात्मक रुपमा कमजोर । ललितपुर महानगर र गोदावरीको आन्तरिक श्रोत बलियो देखिनु र तुलनात्मक रुपमा महालक्ष्मी नगरपालिका कमजोर देखिनुले यहि पुष्टि गर्छ ।
विशाल जमिन हुनु, र थोरै जनसंख्या हुनु , बिकास प्रक्रियाको लागि राम्रो नभएको तथ्य पनि पालिकाहरुको बिबरणले पुष्टि गर्यो । तीन गाउँपालिकाको आय / ब्ययलाई अध्ययन गर्ने हो भने , ती पालिकाहरु सरकारी संयन्त्र चलाउन र कर्मचारिलाई जागिर खुवाउन मात्र अस्तित्वमा रहेको अनुभूति हुन्छ । ललितपुरको बिकट ६० % पहाडी भुगोलको भौतिक पुर्बाधार बिकासमा दक्षिणका तीन गाउपालिकाहरुले गर्ने बार्षिक पुजिगत खर्च जम्मा जम्मी एकमुष्टमा ७७ करोड मात्र रहेको देखियो।
श्रोत परिचालन , पुर्बाधार बिकास र नागरिकको आर्थिक / सामाजिक समृध्दिकरणको लागि ललितपुरमा जम्मा दुई पालिका :
धेरै पालिका बनाउदा र पालिका भवन घरबाट नजिक हुँदा सेवा सुबिधा सहज तबरले पाइन्छ भन्ने मानसिकता सहि होइन । आम नागरिकले सेवा लिने र सरकार खोज्ने तल्लो निकाय वडा हो । वडा , साधन / श्रोत र अधिकार सम्पन्न हुँदा नागरिकको सरोकार वडा कार्यालयबाटै सम्बोधन हुन्छन । थोरै वडा भएका साना गाउँपालिकाले वडालाई अधिकार र बजेट दुबै दिदैनन । उदाहरणको लागि ललितपुरका टिनवटा पालिकालाई नै हेरे हुन्छ । जहाँ स – सानो बजेटको लागि पनि पालिका धाउनु पर्ने हुन्छ । काठ क्षेत्रका नगरपालिका अन्तर्गत रहेका वडाहरुलाई हेर्ने हो भने तुलनात्मक रुपमा बजेट त राम्रो पाएका छन् तर आर्थिक अधिकार यहाँ पनि खुम्च्याइएको छ। टोल बिकासको सानो कामको लागि पनि उपभोक्ताहरु घरी घरी नगर कार्यालय धाउनुपर्ने बाध्यता छ । ती वडाहरुलाई आर्थिक परिचालनको अधिकार दिइएको छैन । जबकी महानगरका वडाहरु साधन / श्रोत र अधिकार दुबैमा सम्पन्न छन् । आम नागरिकका अधिकाङ्श काम र सरोकार , वडा कार्यालयले नै निप्टारा लगाउछन । आम नागरिकलाई सेवा सुबिधा र बिकास निर्माणका लागि नगर कार्यालय धाउनै पर्दैन । त्यसैले पालिका संख्या बढाउनेमा होइन , अधिकार सप्पन्न बलियो वडाको पक्षमा बहस गरौं । पालिका संख्या बढ्दा चालू खर्चको भार मात्र थपिन्छ ।
१) गोदावरी र महालक्ष्मी सहितको ललितपुर महानगरपालिका : हाल कायम रहेका ललितपुर महानगर पालिकामा गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालाई समाहित गरि एउटै महानगरपालिका बनाइनुपर्छ । यसो गर्दा निम्न फाइदाहरु हुने छन् :-
- संस्कृतिक पक्ष – यी तिनवटै नगरको संस्कृतिक पहिचान मुलत नेवा संस्कृति र सभ्यता नै हो ।
- ईतिहास – पाटन राज्य अन्तर्गतको भुगोल । १६ सालको आम चुनाबमा समेत लेले देखि दक्षिणको भुगोल, अलग निर्बाचन क्षेत्र रहेको बास्तबिकता ।
- पानी र नदि प्रणाली – उपत्यकाको पानी ढलो । खाने पानीको श्रोत र सिंचाइ श्रोत एउटै भएको ।
- बिकास निर्माणमा सहजता – हालको महानगरसङ्ग पर्याप्त आन्तरिक श्रोत भएको। काठ क्षेत्रमा रहेका नगरहरु आन्तरिक श्रोतमा कमजोर रहेका र भौतिक पुर्बाधार बिकासको आवश्यकता काठ क्षेत्रमा बढी आवश्यक रहेको ।
- सहज प्रशासनिक पहुच – नगरको क्षेत्र ठूलो हुँदा कार्यसम्पादनको लागि वडामा अधिकार र बजेट दुबै प्रत्त्यायोजन हुने हुँदा आम नागरिकको प्रशासनिक पहुच बढ्ने ।
- चालू खर्चमा कटौती – हाल तिनवटा मेयर , उप – मेयर र तिनवटा प्रशासनिक प्रमुखले गर्ने कार्य एक एक मा झर्ने छ । कैयन प्रशासनिक दरबन्दी घट्ने छ । जसका कारण भारी मात्रामा चालू खर्च कटौती हुन जान्छ।
समग्र काठ क्षेत्र सहितको ललितपुर महानगरले छोटो समयमा काठको खोला करिडोर बनाउने हैसियत राख्छ । सुबिधाजनक खोला करिडोर बन्दा शहरीकरणको लाभ काठ क्षेत्रका कुना कन्दराका बस्तिले समेत उठाउन सक्नेछन् । काठका अधिकाङ्स बस्ती चक्रपथबाट आधा घण्टाको यात्रामा समेटिने छन् । लुभु देखि लेले सम्म भएका नेवा बस्ती र तिनका मौलिक संस्कृतिक पहिचान प्रबर्ध्दनमा सहयोग पुग्ने छ । शहरीकरणसङ्गै पेशा रोजगारका अनेकौं सम्भावनाहरु खुल्ने छन् ।
२) दक्षिणका तीन गाउँपालिकालाई मिलाएर एउटै पालिका कायम : हाल दक्षिणमा रहेका बागमती गाउँपालिका , महाङ्काल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकालाई मिलाएर एउटै पालिका बनाइनुपर्छ । पालिकाको नाम भने कोन्ज्योसोम कायम हुँदा राम्रो हुन्छ । इतिहासिक रुपमा तामाङ्गले आबाद गरेको क्षेत्र , जहाँको बहुल जनसंख्या तामाङ्ग जाती छ । यस्तो अवस्थामा उनिहरुको पहिचान र अपनत्व स्थापित गर्ने नाम चयन हुँदा समग्र क्षेत्रलाई न्याय हुन जान्छ । दक्षिण पहाड एउटै पालिका हुदा निम्न फाइदा हुने छन् ।
- दुइवटा ब्यवस्थित पहाडी बजार ब्यवस्थापनमा सहयोग – उचित शिक्षा ,स्वास्थ्यको ब्यवस्था र बस्तु बिनिमयको लागि बजार चाहिन्छ । १५,००० जनसंख्या भएको बस्तिले मात्र एउटा बजार निर्माण गर्ने हैसियत राख्दछ। आजको दक्षिण ललितपुरको जनसंख्या , मात्र दुइवटा बजार ब्यवस्थापनको लागि पर्याप्त छ । छरिएको बस्ती एकीकृत गरि उपयुक्त दुई स्थानमा जनसंख्या केन्द्रीकृत गर्दा भौतिक पुर्बाधारको बिकास सहज हुन्छ ।
- बलियो आन्तरिक श्रोतको लागि औद्योगिक क्षेत्र – खानी बिभागले क्रसर तथा निर्माणजन्य सामाग्री उत्पादनको लागि भट्टेडाडा – माल्टा क्षेत्र र चौघरे – शङ्खु – मानिखेल – दलचोकी क्षेत्रलाई खानी क्षेत्र घोषणा गरेको छ । भट्टेडाडामा ग्रेनाइट सहितको उत्पादनको लागि लाइसेन्स जारी भै सकेको अवस्था छ भने चौघरे लगाएतको २१ बर्ग कि. मि क्षेत्रको ब्यवसायिक अध्ययन सहित IEE सप्पन्न भएको छ । यी दुई खानी क्षेत्र संचालन हुँदा दक्षिणको ३३,७०० नागरिकलाई राजश्वबाटै स्वत धनी हुने अवसर मिल्ने छ ।
- बिकासको निकास – बर्षातमा हुने कान्ति लोकपथको पहिरो । रुम्बाको पहिरो र घिसिङ्गको डोलको पहिरो जस्ता दुखलाई पार लगाउने हो भने टिकाभैरब कलौन सुरुङमार्ग र कलौन सुभाने सुरुङमार्ग दक्षिण ललितपुरको आवश्यकता हो। बाकी बाटोहरु खोला करिडोरबाट बिकास हुँदा समग्र दक्षिण ललितपुरको बिकास हुने छ । हालको अवस्थामा रोइ रहने र गायी रहने हो भने , पातलिदै गएको दक्षिण ललितपुर चाडै नै खाली हुने छ ।
दक्षिण ललितपुरका तीन गाउँपालिकाले बुझ्नुपर्ने तीन तथ्य :
तथ्य न. १) जनसंख्या र बजेट अनुपात – हाल दक्षिण ललितपुरमा ३३ हजार ७०० जनसंख्या र ५५ सय घर धुरी छ । यस हिसाबले दक्षिणका एक घर परिवारमा छ जना छन । तीन गाउँपालिकाले बार्षिक १ अर्ब ५० करोड खर्च गरि रहदा , बिकास निर्माण र अनुदानको नाममा प्रदेश सरकार र नेपाल सरकारले २ अर्ब ५० करोड हाराहारी बजेट दक्षिणमा थप लगानि गर्दै आएका छन् । यसरी हेर्ने हो भने समग्र दक्षिण ललितपुरमा बार्षिक ४ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । त्यो भनेको दक्षिणमा भएको एकजना ब्यक्तिको लागि राज्यले १० हजार प्रती महिना खर्च गर्नु हो । र, एक घर परिवारको लागि , मासिक ६० हजार खर्च राज्यले ब्यहोर्नु सो सरह हो।
तथ्य न. २ ) केन्द्रीकृत बसोबास र बजारको बिकास –
दक्षिण ललितपुरको बसोबास कृषि र पशुपालन युगमा , घाँस दाउरा र चरी चरणलाई बिचार गरेर बसाइएको ऎतिहासिक तथ्य हो । अधिकाङ्स जमिन बसोबास योग्य छैनन । पातलो छरिएको गाउँ बस्तिको बिकासको लागि पर्याप्त श्रोत हुने कुरा पनि भएन । बस्ती पातलिदै जादा बिधालयहरु बन्द हुँदै गएका छन् । आफ्नो सन्तानको पढाइ कै लागि बस्ती छोड्ने उपक्रम सङ्गै बस्ती द्रुततर गतिमा खाली हुँदै छन् । यस्तो अवस्थामा आवागमनलाई सहज हुने गरि टुङ्गुन – खानी खोला करिडोरको आसपासको क्षेत्र र प्युटार देखि हेल्टार सम्मको बागमती करिडोर क्षेत्रमा जनसंख्यालाई एकीकृत गर्दै , १५ – १७ हजारका दुई नयाँ बजार ( बस्ती ) निर्माण गर्दा समग्र मानबिय बिकासमा सहजता हुन्छ । ती बजार निर्माणको क्रममा खाली हुन जाने जमिनमा काठजन्य उत्पादन प्रबर्ध्दन गर्ने र खानी क्षेत्रलाई निर्बाध सन्चालनको लागि मानबिय बस्ती र खानी क्षेत्रलाई अलग थलग गर्ने हो भने दक्षिण ललितपुरको बलियो अर्थतन्त्र निर्माण हुन जान्छ ।
दक्षिणमा निर्माण हुने दुई नयाँ बजार र त्यसको उपत्यकासङ्गको सडक सन्जाल भने टिकाभैरब कलौन सुरुङ्गमार्ग र कलौन सुभाने सुरुङ्गमार्ग मार्फत जोडिनुपर्छ । हाल सन्चालनमा रहेका कान्तिलोकपथ लगाएतका सम्पुर्ण सडक नामका मृत्युुमार्गका खासै कुनै अर्थ र औचित्य छैन । यी सडकलाई हिउदमा काठ र क्रसर सामाग्री ओसार पसार गर्ने बैकल्पिक मार्गको रुपमा उपयोगमा ल्याइनुपर्छ ।
तथ्य न. ३) जमिन र बन –
ललितपुरको क्षेत्रफल ३८५ बर्ग कि. मि छ । त्यसको ६० % जमिन ( २३१ बर्ग किलोमिटर ) दक्षिण ललितपुरको जमिन हो । दक्षिणको २३१ बर्ग किलोमीटरमा ६० % बन र सार्बजनिक क्षेत्र छ भने बाकिको ४० % जमिन , ( ९२.४ बर्ग किलोमीटर , १ लाख ८१ हजार ६८८ रोपनि ) जमिन, निजि जमिन छ ।
जम्मा ३३ हजार ७०० को जनसंख्या र १ लाख ८१ हजार ६८८ रोपनी जग्गा । अहिले सम्म दूध र कफिको कथा हाल्दै दक्षिण , कृषि मै अल्मलियो । दुखी जीवन जियो । कृषिमा संघर्ष गर्दा गर्दै टिक्न नसकेर थातथलो छोड्नेको संख्या बढ्दै जादा ,दक्षिण ललितपुर रित्तिदै गएको छ ।
प्युटारको देखि हेल्टार सम्म खयर र साल उत्पादन हुन्छ । ती क्षेत्र मा खयर र साललाई प्रबर्द्धन गर्ने । राज्यले नीतिगत सहजिकरण गर्ने । अहिले पनि निजि जमिनमा भएका खयर र साल नागरिकले बेच्न मात्र पाउने हो भने नागरिकको जिबनमा काया पलट हुन्छ । जहाँ खयर र साल उत्पादन हुँदैन ती जमिनबाट नागरिकले प्लाइ र फर्निचर उधोगलाई कु काठ उत्पादन गर्न सक्छन् । विशाल काठ उत्पादन गर्ने क्षेत्रको रुपमा दक्षिणलाई बिकास गर्दा दक्षिण ललितपुरबासिको उज्ज्वल भबिष्य छ ।
दूध , तरकारी र कफिको कहानी सुन्दा राम्रो छ । तर नागरिकमा गुणस्तरीय जीवन दिन भने पर्याप्त छैन । प्रति महिना हरेक नागरिकलाई राज्यले १० हजार खर्च गर्दै आएको , दक्षिण ललितपुर बासिको जीवन , दुखी हुनुहुन्न । गरिब र बिकटमा रहेका कृषकलाई ब्यवसायिक कृषिको नारामा भुलाउनु पनि हुन्न । त्यहाँ रहेका प्राकृतिक श्रोत / साधनमा उनिहरुको स्वामित्व स्थापित गरिनु पर्छ । ठुला खानी क्षेत्रबाट आउने रोय्ल्टी र एक पटक लगाए पछि काट्न मात्र जान मिल्ने निजि बनको बिकासले दक्षिणलाई सुख र समृध्दी दिनसक्छ ।
राज्यले खर्च पनि गरि रहने , नागरिकले सास्ती पनि ब्यहोरी रहने , यो स्थिती भुगोल , जनसंख्या र बिकासको तालमेल नमिल्दा भएको हो। त्यसैले दक्षिण ललितपुरलाई एक पालिका , दुई बजार , दुइ सुरुङ्गमार्ग र दुई ब्यवस्थित औधोगिक क्षेत्रमा समेटिनु पर्छ ।
सधैं बिबाद र झमेला भै रहने सानो खानी क्षेत्र र क्रसर उधोगले गोदावरी नगरलाई ललितपुर महानगर पछिको दोश्रो बलियो आन्तरिक श्रोत भएको नगर बनायो । बिशाल खानी क्षेत्र रहने दक्षिण ललितपुर निकै धनी बन्न सक्छ । एकीकृत बस्ती बिकास दक्षिणको चुनौती हो । यसैलाई मिलाउन पनि समग्र दक्षिण एकै पालिका हुनु जरुरी छ ।
स्थानीय तह समायोजनका केही अन्य बिकल्पहरु :
काठमाडौं उपत्यका एउटै महानगर पनि हुन सक्छ। अमेरिकाको वाशिङ्टन र भारतको दिल्ली म्युनिसिपल कर्पोरेसन जस्तो । वा , ललितपुरको भौगोलिक र बिकास पुर्बाधारको आधारमा शहरि क्षेत्र , काठ क्षेत्र र ग्रामीण क्षेत्र गरि तीन पालिका पनि राख्न सकिन्छ । यसो हुँदा प्रतिनिधि सभा निर्बाचन क्षेत्रलाई समेत सोही अनुसार बिभाजन गर्न सजिलो पर्छ । दक्षिण ललितपुरले न्याय पाउछ । जसरी पुनर्संरचना गर्दा पनि दक्षिण ललितपुर भने एक पालिका मै समेटिनुपर्छ । अन्यथा कर्मचारी पाल्ने र दलका कार्यकर्तालाई मान इज्जत दिने बाहेक दक्षिणको अर्को काम हुने छैन । बिस्तारै बस्ती रित्तिदै छन् । चाडै सक्किने छन् । त्यसैले भावनाले होइन तथ्य र तथ्यांकको आधारमा आजको आवश्यकताको सामना गरौं । स्थानीय तह पुनर्संरचनाको बहस जन जनमा पुर्याऔ ।








प्रतिक्रिया