अशोक दुलाल
ललितपुर जिल्लामा पालिकाको संख्या घटाउने बहस सुरु भएको छ ।
नेपाल सरकारले ’गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’स्थानीय पालिकाहरुलाई परिपत्र गरेपछि जिल्ला समन्वय समितीले आज छलफलका लागि स्थानीय राजनीतिक दलका नेताहरु र पालिका प्रमुखलगायतलाई छलफलका लागि बोलाएको हो ।
स्थानीय निकायको पुनरावलोकन गर्न सरकारले नै बहस सुरु गरेपछि चौतर्फी तर्कवितर्क हुन थालेको छ ।
देशभर ७ सय ५३ स्थानीय निकाय रहेकोमा पछिल्लो घटाएर ३ सयको हाराहारीमा ल्याउनुपर्ने राजनीतिक बहस भइरहेको सन्दर्भमा ललितपुरका पालिकाको संख्या घट्न सक्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा दक्षिण ललितपुरमा दुई पालिका र उत्तरी ललितपुरमा दुई नगरपालिका बनाएर पालिका घटाउनु पर्ने तर्क एकातिर भइरहेको छ भने अर्कोतर्फ केन्द्रले दिने बित्त अनुदान घटेसँगै विकास निर्माणमा प्रभाव पर्ने भन्दै घटाउन नहुने बहस भइरहेको छ ।
राजनीतिक दलका प्रतिनिधिहरु भने आफ्नो राजनीतिक विजय र पराजयको हिसाव किताव गरेर पालिका घटाउने वा बढाउने विषयमा तर्कवितर्क गरिरहेका छन् । पालिका केन्द्रहरु अपायक भएको भन्दै जिल्लाका केही वडाहरु एक अर्को पालिकामा गाभ्नु पर्ने तर्क यसअघि नै बहस भइरहेको थियो ।
ललितपुरमा एक महानगरपालिका, दुई नगरपालिका र तीन वडा गाँउपालिका छन् ।








प्रतिक्रिया