१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरमा पहिरो गएपछि कान्तिलोकपथ अवरुद्ध



काठमाडौँ

दक्षिण ललितपुरमा पहिरो गएपछि कान्तिलोकपथ अवरुद्ध भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको बागमती गाउँपालिका ३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

https://www.youtube.com/@lalitkhabar

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगङ्गा गाउँपालिका–२ मा आज बिहान खरेको पहिरोले यो सडक पनि बन्द भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।