६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हिंसाको दृश्य समेटिएको वेब शृङ्खला ‘साहु बा’ प्रदर्शनका लागि तयार



काठमाडौँ
२८ जेठ । हिंसाको दृश्य समेटिएको वेब शृङ्खला ‘साहु बा’ प्रदर्शनका लागि तयार भएको छ । सेरिजमा बन्दुक र खुडालगायतका हतियार चलाइरहेको मारकाट र प्रहरी अनुसन्धानको यथेष्ट दृश्य रहेको छ ।
राजधानीमा एक कार्यक्रम आयोजना गरेर वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ ।
सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय गरेका कलाकारको आवरण (गेटअप) र कथासार बुझ्न मदत पुग्ने निर्देशक सुजय योङले बताए । “शृङ्खलाको लेखनमा तीन वर्ष समय खर्चिएका छौँ । यसको छायाङ्कनमा पनि समय लागेको छ । मेरो योजनामा प्रसिद्ध कलाकार जोडिनुभयो, यो सफल भएमा नेपालमा शृङ्खला बन्ने क्रम बढ्नुका साथै चलचित्रका कलाकार पनि अभिनय गर्न तयार हुने मैले देखेको छु । त्यसैले यो मेरा लागि त महत्वपूर्ण छ नै यसले नेपालमा वेब शृङ्खलालाई नयाँ सम्भावना दिने छ”, निर्देशक योङले भने ।

अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारले शृङ्खलामा अभिनय गरेका छन् ।

अभिनेत्री कार्कीले यो शृङ्खलामा अभिनय गर्नुको कारण कथावस्तु रहेको बताइन् । अभिनेत्री कार्कीले भनिन्,“यो नेपालमा नयाँ प्रयोग पनि हो । मलाई यसको विषयले आकर्षित गरेको हो । मेरो बच्चा भएको समय भएकाले त्यहीअनुरुप मेरो पात्र तयार गरिएको थियो तर २४ औँ भाग खिच्दासम्म मेरो शारीरिक अवस्था परिवर्तन भएको देख्नुहुनेछ ।”

यो शृङ्खला एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा प्रदर्शन हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको शृङ्खलालाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर छायाङ्कन गरेका हुन् । शृङ्खलाको कथा, पटकथा तथा संवाद निर्देशक योङले नै तयार गरेका हो ।

प्रेम, विश्वासघात र प्रतिसोधको कथा समेटिएको शृङ्खलालाई द्वन्द्व र अपराध (एक्सन तथा क्राइम) विधामा तयार गरिएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।