काठमाडौं
२३ असार । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा ‘पूर्णविराम’ मन्चन भइरहेको छ । नाटक ‘पूर्णविराम’ले पर्यावरणका केहि जटिल प्रश्नहरू उठाएको छ ।
बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू नाटकले उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ ।
कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्न समेत गा¥हो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनास गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो ।
असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक सुरज पराजुली हुन् ।
बढ्दो शहरीकरण र वातावरण विनासले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् ।
उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटी नै भएको थियो ।’
उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे ।
नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।
नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।
नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजेपनि रहनेछ ।








प्रतिक्रिया