१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अग्निदहन’ हेरेपछि चलचित्रकर्मीले दिए मन परेको प्रतिकृया



‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो

काठमाडौं
चलचित्र ‘अग्निदहन’को बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए ।

निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए ।

राजनीतिकर्मी शंकर तिवारीले अधिकांश चलचित्रमा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई चलचित्रले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे ।

निर्देशक तथा कलाकार नरेश पौडेलले चलचित्रले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।

कलाकार लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए ।

माता सविता आचार्यले चलचित्र हेर्दा आफूलाई आँशु आउन खोजेको र डर लागेको बताइन् । उनले वास्तविक पुरै मिलेको भन्दै तारिफ गरिन् ।

केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो चलचित्र बनाएका हौं’

कलाकार तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै तारिफ गरे ।

यो चलचित्रका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि चलचित्र प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।

उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै चलचित्रमार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले चलचित्र निर्माण गरेको बताए । ‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं । अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो चलचित्र बनाएका हौं’, उनले भने ।

उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन चलचित्र प्रभावकारी बनेको दाबी गरे ।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।