२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘लाज शरणम्’समिक्षा : लाजमर्दो कथ्यशैली र प्रस्तुती



चापागाँउ

काँचको पर्दामा हास्य विधाको चलचित्र ‘सक्कियगो नि’ हेरिरहेका दर्शकका लागि ठूलो पर्दाको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनमा आएको छ । सधैं सानो पर्दामा चिच्चाएर बोल्ने बानी परेका कलाकारहरुको अभिनय हेर्न दर्शक आतुर छन् । तर दुःखको कुरा चलचित्र लाज शरणम् हल्ला गरेजस्तो ‘राम्रो’ छैन ।

कथासार

कर्णालीको दुर्गम गाँउबाट किरण रोकाया काम गर्न विदेश जान्छ । दुर्भाग्य उसको केही समयमै त्यहाँ मृत्यु हुन्छ । उसको शव त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आउँछ ।
सोही विमानमा सुन तस्करले एक युवतीको आकृति बनाएर शव ल्याएको हुन्छ । सो शवको कफिन लेखिएको ट्याग विमानस्थलका कर्मचारीले साटिदिन्छन् ।

एकातिर शव हराउँछ । अर्कोतर्फ करिव ६५ करोड रुपैयाँ बराबरको अबैध सुन । चलचित्र यहीबाट सुरु हुन्छ । चलचित्रमा अनेकौं तिकडक र हर्कत देखाइएको छ । जुन हेर्न चलचित्र भवनमा टिकट काटेर जानु जरुरी छ ।


सवल पक्ष

सत्ताको रचनात्मक आयोजना गर्ने समाजको तप्का हराउदै गएको आजको परिस्थितीमा चलचित्रले वर्तमान राजनीतिमाथि व्यङ्य गरेको छ । क्रुर राजनीतिमाथि धारे हात लगाएको छ । चलचित्रले पश्चिम नेपालको पर्यटकीय सम्भावनालाई सुन्दर ढंगबाट देखाएको छ । मुस्ताङ र डोल्पाको सुन्दर दृश्य हेर्ने जो कोही मन्त्र मुग्ध हुन्छन् । चलचित्रका पात्रहरुको विविधता अर्को सवल पक्ष हो । कलाकारहरुको अभिनयशैलीमा निखार नआए पनि प्रयास भने राम्रो छ ।

चलचित्रले कर्णालीको दुःख र कष्ट देखाएको छ । शहरको जीवनमा रमाउनेहरुका लागि नेपालीहरुको परिस्थिती देखाएर हाम्रो धरातल बुझाउन चलचित्र सक्षम छ । गाँउमा गतिलो अस्पताल बनाउन युवकले गरेको संर्घष प्रेरणादायी छ ।

दुर्बल पक्ष

हास्य कलाकारहरुको भीड रहेको चलचित्र हेर्न हलसम्म पुग्ने दर्शकको अपेक्षा चलचित्र रमाइलो होला । खित्का छोडेर हाँस्न पाइन्छ भन्ने हुन्छ । तर लाज शरणम् हेर्न जाने दर्शक चलचित्र हेरेर हाँसेर होइन लाज मानेर फर्कन्छन् । चलचित्र हेरेर खासै हास्न पाइन्न । रुने ठाँउ पनि छैन ।

चलचित्रको दृश्यभाषा पनि कमजोर छ । चलचित्रलाई हेर्ने र सुन्ने मात्रै होइन अनुभव संगाल्ने माध्यम पनि हो । हाँसो आँशु,नृत्य, संगीत, खोला, जंगल, चराचुरुंगी र जीवजनावारको आवाजमार्फत चलचित्रलाई अनुभव गर्ने अवसर दिइएको छैन । क्यामेराको टेक्निक प्रयोग गरेर दृश्यहरुले आफै बोलुन् भन्ने मनसाय निर्देशक कट्टेलको मनसाय देखिएन । कलाकारहरु टेलि चलचित्रमा झैं च्याठ्एिर चिच्याएको सुनिन्छ ।

चलचित्रमा दुःख लाग्ने दृश्यहरुमा दर्शकले तुरुक्क आँशु नझरे पनि मन कटक्क खानु पथ्र्यो । लामो कथा समयमै सिध्याउन हतार हातार चलचित्र अघि बढेर पनि हुनसक्छ । दर्शकलाई ती दृश्यले मन छुँदैन । चलचित्रमा डरलाग्दो अपाङता भएको वालकको दृश्य नदेखाएको भए राम्रो हुन्थ्यो । सामाजिक सञ्जालले समेत मान्यता नदिने डरलाग्ने अपाङता भएको वालकको दृश्यले पर्दामा आँखा अडिदैन । तस्कर र भष्टहरुले सुन र पैसा लुकाउन गरेको हर्कत अघिल्लो चलचित्र जात्रामै हेरिएको थियो ।

बजारमा चलेको नेपाली चलचित्रको शैली र विषयबस्तुको पछि लाग्ने अनौठो रोग छ । लाज शरणम्ले पनि त्यही गल्ती दोहो¥याएको छ । पुरानै कथालार्ई नयाँ स्वरुप दिएर कथाकार निर्माण गरेको कारण कथाकार कट्टेलको श्रृजनशीलतामा पनि प्रश्न गर्ने ठाँउ भेटिन्छ । चलचित्र क्षेत्रमा अरुको अक्कल टिपेर नक्कल गर्न नयाँ पुस्ता पनि खप्पिस रहेको बुझ्न चलचित्र हेरेपछि गाह्रो पर्दैन । जात्रा श्रृखलामा तस्कर र भ्रष्टहरुले पैसा र सुन लुकाउन गरेको लुकामारी लाज शरणम्मा दोहोरिएको छ ।

चलचित्रमा भएको एउटा गीत पनि पुरा देखाइदैन । मेयर बालेनको गीत प्रमोसनमा प्रयोग गरिएको खुलासा हुन्छ । गीत संगीत नहुँदा चलचित्र नूनविना तरकारीजस्तोे खल्लो लाग्छ । चलचित्रमा विवादास्पद चरित्रलाई क्यारिकेचर गरेर देखाइएको अवस्था खासै मज्जालाग्दो छैन । प्रत्यक्ष व्यग्यं बाहेक क्यारिकेचरलाई पात्रको रुपमा प्रयोग गर्नु उचित थिएन ।
चलचित्र४५ मिनेटसम्म रोचक अनि सही दिशातर्फ अघि बढेपछि त्यसपछि चलचित्र जति अघि बढ्छ उति नै सुस्ताउदै जान्छ ।

ठाँउ ठाँउमा चलचित्र हेरिहँदा निदाउने खतरा हुन्छ । चलचित्र पटक पटक छोडेर हिडिदिउ कि जस्तो लाग्न सक्छ । घटनाक्रमको श्रृखला धेरै ठाँउमा भत्काइएको छ । चलचित्रको कथामा दर्जनौ घुम्ती हेर्दा हैरान भइन्छ ।

कथाको श्रृखला भत्काइएको कारणे दर्शकको मन भड्कन्छ । घटना र पात्रको अवस्था नबुझ्दा दिमाग खियाउनु पर्ने हुन्छ । यो के भइरहेछ? भन्दै दर्शकलाई सोभखोज गर्नु पर्ने अवस्था आउँछ ।

सिताराम कट्टेल ‘धुर्मस’(सोनालाल)

कलाकार सिताराम कट्टेल ‘धुर्मस’ (क्यारिकेचर) शैलीमा चलचित्रमा देखिएका छन् । उनले निएको एक नेताको दुरुस्त भूमिका कलात्मक लागेपनि नून नपुगेको तरकारीजस्ता खल्लो छ । चलचित्र क्षेत्रका त्यो स्तरको कलाकार भएको हिसावले उनीसँग थप अपेक्षा थियो । विवादास्पद चरित्रमा उनी उत्रदा हिरोको भूमिकामा हुनु पर्ने कलाकार भिलेन देखेर दर्शकले नमिठो अनुभव गर्छन्् । आफूलाई कस्तो भूमिकामा उत्रने कलाकार बनाउने भन्ने चाँही उनैले सोच्ने विषय हो ।


विजय बराल (तुला)

सुपरहिट चलचित्र पूर्ण बहादुरका सारंगीका कालकार विजय बराल फेरि यस चलचित्रमा देखिएका छन् । उनले चलचित्रमा ठिकै अभिनय गरेका छन् । उनले चरित्र निर्माण र अभिनय शिल्पका लागि थप समय छुट्याएर तयारी गरेको भए अझ राम्रो काम गर्न सक्ने थिए, शायद । उनको क्षमता लाज शरणम्मा देखिएको तुलाको झन् माझिएको चरित्रमा प्रतिविम्बित हुनुपर्ने थियो ।


महेश त्रिपाठी (सन्देश धामी)

कर्णालीको जीवनलाई पात्र सन्देश धामीमार्फत महेश त्रिपाठीले सुन्दर तर कष्टकर रुपमा देखाउन सफल छन् । उनको भेषभुसा र श्रृगारले पात्रको वास्वविकता नजिक पु¥याएको छ । महेशले चलचित्रमार्फत आफू राम्रो कलाकर भएको प्रमाणित गर्ने मौका पाएका छन् । निर्देशक कट्टेलले पनि उनलाई महत्वपूर्ण भूमिका दिएर सही व्यक्तिलाई सही ठाँउमा उभ्याएको महसुस हुन्छ ।

मुकुन्द श्रेष्ठ (चन्द्रबहादुर)

लामो समयपछि पुराना कलाकार मुकुन्द श्रेष्ठको अभिनय हेर्न पाउँदा चलचित्रमा फरक स्वाद अनुभव हुन्छ । मन्त्री चन्द्र बहादुरको पात्रमा उनीको चरित्र फिट छ । तर पुराना कलाकारको पुरानै शैली कतिपयले दर्शकका लागि ठीक नलाग्न पनि सक्छ ।

प्राविधिक पक्ष

चलचित्र हेरिरहँदा सिनेमेट्रोग्राफर सुदिप बडालको कामको प्रशंसा नगरिसकिन्न । उनले कर्णालीको डोल्पा र मुस्ताङको पहाड र हिमाललाई सुन्दर एंगलबाट खिचेका छन् । निर्माण पक्षले पनि ती दृश्य राख्ने अक्कल लगाएर राम्रो गरेको छ । भिएफएक्स समिर मियाले हिमाललाई पहाड नजिकै ल्याएर झन् सुन्दर बनाउन सघाएका छन् । राजेन्द्र मोक्तान रंग संयोजन चित्तबुझ्दो छ ।

सम्पादन मिलन मोक्तानको सम्पादनमा खोट लगाउने ठाँउ भेटिएन भने चलचित्रका कलाकारलाई फरक चरित्रको देखाउन गणेश अछामी र विक्रम गौत्तमले पनि भेषभुसामार्फत सहयोग गरेका छन् ।

चलचित्रमा अर्पण थापाले जग्गु दादाको भिलेन भूमिकामा जमदार अभिनय गर्न अल्छी गरेको हो कि भन्ने शंका गर्ने ठाँउ दिउका छन् । श्रृजना अधिकारीको अभिनयले पात्रमा डुव्न दर्शकलाई बाध्य बनाएको छ । कमलमणी नेपालको नयाँ अभिनय शैली हेर्न पाइनछ भने सागर लम्सालको फ्रेस अनुहार र फरक अभिनय देख्दा आनन्द लाग्छ । अर्जुन घिमिरेले चलचित्रलाई टेलिचलचित्रको स्वाद दिउका छन् भने सितादेवि घिमिरेको अभिनय औसत छ ।

अन्तमा,

हुन त एउटा सिंगो चलचित्र निर्माणका लागि एक सयभन्दा धेरै कलाकार प्राविधिकहरुको मेहनत र कला मिसिएको हुन्छ । तर पनि चलचित्र निर्देशकको दृष्टिकोणबाट निर्माण हुन्छ । निर्देशकले चाहेको दृश्य कला र प्रविधि मिसाएपछि मात्रै चलचित्र पुरा हुन्छ । त्यसैले चलचित्रको सबै जस र अपजस निर्देशकलाई दिइन्छ ।

निर्देशक कुमार कट्टेलले चलचित्रको कथा पर्दामा सलल बगाएका छैनन् । ठाँउ ठाँउमा कथाको श्रृखला भत्केको छ । रोचक सुन काण्ड हेरेर रमाइराहेका दर्शकलाई कर्णालीको दुःख देखाइएको छ । दुःख हेरे आँखा रसाइरहेको बेला फेरि सुन्दर दृश्य देखेपछि दर्शकको मन रनभुल्ल पर्छ । एउटै चलचित्रभित्र भिन्न भिन्न इमोसन श्रृजना गरिएको छ । दर्शकले चलचित्र हेर्दा पिरामिड शैली मन पराउछन् ।

चलचित्रको कथा सुस्त गरेर उठाएर उत्कर्षमा द्वन्द्व श्रृजना गर्नु बुद्धिमानी हुन्थ्यो । चलचित्रको उठान भयङ्कर द्वन्द्वात्मक घटनाबाट गरिएको छ । मध्यान्तरपछि हलमै दर्शक निदाउने खतरा हुन्छ । चलचित्रको अन्त्य ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जसरी गरिएको छ ।
चलचित्र हेरिरहँदा कथाकार तथा निर्देशक कट्टेलले दर्शको मन भाँडिदिएका छन् ।

हुन त चलचित्र एक दर्शकलाई राम्रो लागेको चलचित्र अरुलाई मन पर्नसक्छ । द्वन्द्वको विषय(एक्सन जनरा)मा बनेको चलचित्र हास्य कलाकारको अभिनय हेर्न बानी परेका दर्शकलाई मन पर्दैन । लभस्टोरी, हरर,सोसल ड्रामाजस्ता अनेकौं विधामा नेपाली चलचित्र बनेका पाइन्छन् । ती सबै चलचित्रमा दर्शक बाडिएर पनि चलचित्रले व्यावसायिक सफलता नपाउन सक्छ ।

धेरै अपेक्षाका बीच प्रदृशनमा आएको चलचित्रभित्र थुप्रै समस्या भए पनि डेव्यु निर्देशक कुमार कट्टेलको चलचित्र कामलाई ‘राम्रै’ मान्नुपर्छ । उनले पहिलो चलचित्रबाटै दमदार प्रवेश गर्न खोजेको भान हुन्छ । चलचित्रको स्टार कथाबस्तुलाई मानेर लामो मेहनत र तयारीका साथ चलचित्रमा अघि बढे उनको भविश्य सुन्दर छ । पछिल्लो पुस्ताको बीच ‘स्टार बिक्दैन, कलाकार टिक्छ’ भन्ने सन्देसलाई निर्माण पक्षले बुझ्न ढिला नगरि सिक्वेल बनाउँदा राम्रो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।