धरान
चलचित्र ’अञ्जिला’को धरानमा रेड कार्पेट प्रिमियर गरिएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थित थिए ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा प्रिमियर भइसकेको छ ।
भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा सहभागीहरुले चलचित्र हेरेका थिए ।
चलचित्रकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् ।
यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए चलचित्र हेरेपछि सहभागीले एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया दिएका छन् ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह–निर्माता हुन् ।








प्रतिक्रिया