२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारत–पाकिस्तानबीच मिसाइल हानाहान,बत्ती निभाएर बस्न आह्वान



एजेन्सी । पाकिस्तान र भारतका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ । ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ ।

भारतबाट सञ्चालित अनलाइन द भाष्करका अनुसार पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरे पनि त्यसलाई भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।

भारतीय मिडियाहरुका अनुसार जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ ।

यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ । आक्रमण तीव्र भएपछि जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसरमा तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।

आईपीएलको खेल चलिरहेको बेलामा पनि स्टेडियमको बत्ती केहीबेर निभाइएको थियो । त्यसपछि खेल नै स्थगित गरिएको छ । स्टेडियमबाट दर्शकहरुलाई घर फर्काइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।