चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएकी छिन् ।
सोमबार निर्माण टिमले रजकलाई चलचित्रको प्रमुख भूमिकामा अनुबन्ध गरेको जानकारी दिएको छ । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्काजस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन् । अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। चलचित्रमा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्। चलचित्रको निर्देशक परिक्षेद सेन रहेका छन् ।
प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको हो । उनले भने, “हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौं। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ। हाम्रो टोली मजबुत बनेको छ।”
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।








प्रतिक्रिया