१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माग्ने बुढाको प्रष्टीकरण : ६१ लाख पारिश्रमिक लिएको छैन



काठमाडौं । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने खबर गलत भएको स्पष्ट पारेका छन्।

आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले निर्माताको आग्रहमा हाइप बढाउने उद्देश्यले यस्तो कुरा सार्वजनिक गरिएको बताएका हुन्।

उनले भने, ‘मैले त्यो रकम लिएको होइन। कति लिएको भन्ने कुरा सार्वजनिक रूपमा भन्न चाहन्न तर त्यति भने होइन। निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ।’

घिमिरेका अनुसार निर्माता मुनालले फिल्म प्रचारको फण्डा मिलाउन रकम धेरै देखाउने सुझाव दिएका थिए। ‘दाइ, किन यत्रो धेरै भनेर सोध्दा उहाँले भने– हाइप बढाउनुपर्छ, हल्ला गर्नुपर्छ,’ भन्दै केदारले उक्त दाबीको पछाडि प्रचारात्मक रणनीति रहेको बताए।

यसअघि फिल्म ‘माग्ने राजा’ को पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए। केही मिडियामा केदारलाई नेपालका महंगा कलाकार भनेर समेत उल्लेख गरिएको थियो।

तर, शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रममा निर्माता मुनालले नै त्यो पारिश्रमिकको दाबी गलत भएको स्वीकार गरेका छन्।

केदारले पनि भने, ‘६१ लाख लिएको प्रमाणित गर्नेलाई ६१ लाख रुपैयाँ दिन्छु।’ उनले निर्माता स्वयंले कुराको खण्डन गरेपछि आफूलाई पनि स्पष्टीकरण दिन सजिलो भएको उल्लेख गरे।

केदारको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ आगामी तीजमा प्रदर्शन हुने तयारीमा छ। साथै उनका अन्य फिल्महरू ‘माइतीघर’ (दशैंमा), ‘जेरी अनटप’ (तिहारमा) र ‘जहाजैमा’ (फागुनमा) प्रदर्शन हुने तयारीमा छन्। यसपटक उनले तिहार अमेरिका मै बिताउने जानकारी पनि दिएका छन्।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।