काठमाडौं
सफल चलचित्रहरुको शृङ्खला ‘होस्टेल’को निर्माण पक्षबाट नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरिएको छ ।
निर्माण पक्षले आज सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिन्छ । पोस्टरबाट चलचित्रको सिक्वेलहरुभन्दा कथामा फरक देखिएको छ । चलचित्र थ्रिलर वा सस्पेन्स रहेको पोस्टरले छनक दिएको छ ।
हरेक पटक फरक विद्यार्थी जीवनमा आइपर्ने युवाहरुको कथा प्रस्तुत गर्दै आएको निर्माण पक्षले पोस्टरसँगै कथाका केही रहस्य खोलेको हो । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका छन् ।
नयाँ बन्ने चलचित्रका लागि निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।
चलचित्र ‘होस्टेल ३’ले चलचित्र भवनहरुमा लगातार ५१ दिन पार गरेको थियो ।
होस्टल ३मा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान लगायतका कलाकारहरूले अभिनयलाई दर्शकले मन पराएका थिए ।
‘होस्टेल’ सिरिज, जसको पहिलो भाग २०७० मा हेमराज बिसी र दोस्रो भाग ‘होस्टेल रिटन्र्स’ २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए । ‘होस्टेल ३’ गत वर्षको फागुन २३ गते प्रर्दशन भएको थियो । चलचित्र ‘होस्टेल अगेन’ छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ ।
यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।








प्रतिक्रिया