काठमाडौं
सन् २००२ मा भारतीय चलचित्र साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली चलचित्र सुख दुःखमा अभिनय गर्ने भएका छन्।
उनलाई चलचित्रका लागि यस चलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।
सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दिपराजले नेपाली चलचित्र कोहिनूरमा समेत अभिनय गरेका थिए। स्व. श्रीकृष्ण श्रेष्ठको उक्त चलचित्रमा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली चलचित्रमा देखिन लागेका हुन्।
नीताको निर्देशनमा बन्ने चलचित्र सुख दुःखको कथा मन परेको कारण आफू यस फिल्ममा काम गर्न इच्छुक भएको उनको भनाइ छ। निर्माण पक्षका अनुसार, चलचित्रको कथा सुनेपछि दिपराज भावुक बनेका थिए। तर, उनको भूमिकाबारे निर्माण पक्षले खुलासा गरिसकेको छैन।
आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस चलचित्रका लागि निर्माण टिमले हालै विपना थापालाई पनि अनुबन्ध गरेको छ। यसअघि नीता र विपनाले चलचित्र ह्रस्वदीर्घमा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो।
चलचित्रमा दिपराज, विपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। अन्य कलाकारबारे भने निर्माण टिमले खुलासा गरेको छैन।
चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।








प्रतिक्रिया