२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेलमा ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा



ललितपुर
ललितपुर महानगरपालिका १५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १ हजार ६ सय वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ ।

जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो ।

लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।

विसं २०६० मा विद्यालयले व्यावसायिक परियोजनाअन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहरूले पुनः विरोध जनाए । सोही समयमा लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष पूर्ण स्थापितको नेतृत्वमा सप्तापातल पोखरीको संरक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको इजलासले विद्यालयले उपभोग गर्दै आएको कित्ता नम्बर ११२ को जग्गा गैरकानुनी रूपमा विद्यालयको नाममा बनाइएको ठहर गर्दै २०७६ साल असार २३ गते मुद्दाको फैसला गर्यो ।

सोह्र वर्षसम्म मुद्दा लडेर पोखरीलाई पुनःस्थापित गराउन सफल भएका सप्तापातल पोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष, ८० वर्षीय पूर्ण स्थापित भन्छन्, “यो निकै ऐतिहासिक पोखरी हो । यसको सम्बन्ध पाटन सहरको पानी र रातो मच्छिन्द्रनाथको भोटो जात्रासँग जोडिएको छ । त्यसकारण यसको पुनर्निर्माण र संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

 

सप्तापातल पोखरीसँगै रहेको कमल पोखरी ९पलेस्वाँ० को ३० रोपनी जमिन राजदल गण ब्यारेकको कम्पाउण्डभित्र रहेकोले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पहलमा त्यसलाई मुक्त गरियो । महर्जनले बाल्यकालमा सप्तापातल र कमल पोखरीमा पौडी खेलेको सम्झँदै भने, “अब पोखरी स्थापित हुन्छ, फेरि कमल फूल्छ ।”

सप्तापातल पोखरी र रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्ध

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीबाट सुरू हुने यो जात्रा तिथिअनुसार महिनौंसम्म चल्ने गर्छ । पुल्चोकबाट रथारोहण गरिएपछि रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई पाटन, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्‍याइन्छ । त्यसपछि राष्ट्रप्रमुखबाट भोटो देखाउने परम्परा रहेको छ ।

भोटो देखाएपछि जलपानेजु पुजारीहरूले सप्तापातल पोखरी छेउको मान्साहिटीमा पूजाआजा गर्छन् । त्यसपछि छेउमै रहेको बुटुकभैरव मन्दिरमा एक जोडी भँगेरा छाड्ने चलन छ । मान्यताअनुसार ती भँगेराले रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएको सन्देश स्वर्गका राजा इन्द्रसम्म पुर्‍याउँछन् ।

त्यसैगरी, सप्तापातल पोखरीमा दुईवटा माछा छाड्ने परम्परा पनि रहिआएको छ, जसले जात्राको समापनको सन्देश पातालका राजा कर्कोट नागराजासम्म पुर्‍याउने विश्वास गरिन्छ । पोखरीमा वर्षौंदेखि पानी नहुँदा परम्पराअनुसार खाल्डो खनेर माछा छाड्नुपर्ने बाध्यता थियो । यसैले पुजारीहरू विधिपूर्वक माछा छोड्न पाएका थिएनन् ।

काठमाडौँ उपत्यकाको यो ऐतिहासिक जात्रा सप्तापातलबाट जोडी भँगेरा उडाएपछि र माछा छोडेपछि औपचारिक रूपमा समापन भएको मानिन्छ । त्यति मात्र होइन, पाटनस्थित ढुङ्गेधारामा पानी झर्न पनि सप्तापातल पोखरीको महत्वपूर्ण भूमिका रहेको ललितपुर महानगरपालिका मेयर महर्जन बताउछन् ।

कस्तो बन्दैछ सप्तापातल पोखरी ?

पोखरीलाई परम्परागत शैलीमा पुनर्निर्माण गरिँदैछ । सप्तापातल र कमल पोखरीको पुनर्निर्माण गर्दा कूल लागत रु १५ करोडसम्म लाग्न सक्ने पुनर्निर्माण उपभोक्ता समितिका सदस्य किरणकुमार स्थापित बताउछन् । हालसम्म करिब रु आठ करोड खर्च भइसकेको छ । अब केही हप्ताभित्र पोखरीमा पानी हाल्ने तयारी भइरहेको र पूर्ण रूपमा सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।

दश फिट गहिराइको पोखरीमा इँटा बिच्छ्याइएको छ र चुना, सुर्की, कालो माटो, बालुवा र ढुङ्गा मात्र प्रयोग गरिएको छ । इञ्जिनियर राकेश महर्जनका अनुसार पोखरी जीवमैत्री स्वरूपमा निर्माण गरिएको हो । धेरै पोखरीहरू खाल्डोजस्तो हुने भएकाले जैविक प्राणीहरू बाहिर निस्कन सक्दैनन्, तर यस पोखरीमा भने विभिन्न प्रजातिका किरा, भ्यागुताजस्ता जीवहरू माथि आउन सक्ने व्यवस्था गरिएको छ । उनीहरूको सुरक्षाका लागि मानव आवतजावत नहुने छुट्टै क्षेत्रसमेत बनाइएको छ ।

पोखरीमा ढुङ्गेधारामा पानी झार्न सिमेन्ट प्रयोग गरिएको छैन । जैविक प्राणीका लागि कङ्क्रिटविहीन संरचना बनाइएकाले वातावरणमैत्री रहनेछ । पोखरीको चारैतिर पुल्चोकमा जस्तै फलामको बार लगाइएको छ, जसबाट बाहिरबाट पोखरीको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ ।

पुनर्निर्माणपछिका सांस्कृतिक पर्वहरू यथावत् रूपमा सञ्चालन गरिनेछन् । आगन्तुकहरू पोखरी वरपर मौलिक शैलीमा निर्माण गरिने पाटीहरू ९फल्चा० मा बसेर आराम गर्न र दृश्यावलोकन गर्न सक्नेछन् । पोखरीमा पानी सञ्चित गर्न राजकुलोमार्फत टीकाभैरवबाट पानी ल्याउने योजना अगाडि बढाइएको छ । इञ्जिनियर प्रतीप पौडेलका अनुसार सप्तापातलदेखि सुनकोटीसम्मको करिब तीन किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । ललितपुर महानगरपालिकाभित्रको काम चालु आवभित्र सकिने र माथिल्लो करिब आठ किलोमिटर खण्डको काम सम्पन्न हुन केही वर्ष लाग्ने बताइएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।