२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सिटामोल समिक्षा : मौलिक कथामा ‘मास्टरपिस’ चलचित्र



ललितखबर
अभिनेता सौगात मल्लको शुभेच्छुकहरुका लागि खुशीको खबर छ । गएको शुक्रबारबाट देशभरका उनले अभिनय गरेको चलचित्र सिटामोल प्रर्दशनमा आएको छ ।
नेपाली चलचित्रमा एउटा फरक अभिनेताको परिचय बनाएका अभिनेता मल्ल यस चलचित्रमा सशक्त चरित्रमा अभिनय गरेका छन् ।
कथासार
२०५२ सालपछिको नेपालको परिस्थितीलाई चलचित्रमा चित्रण गरिएको छ । ‘चन्द्र’ अर्थात सौगात मल्ल माओवादी जनयुद्ध लडेको युवक । युद्धको क्रममा ऊ घाइते छ । धेरै पैसा कमाउने सपना देखेकी चुलबुले तारा वेनिशा हमाल । जो धनी केटासँग विहे गरेर हवाई जहाजमा उड्न चाहन्छे । उनीहरुको जीवनमा पैसाको अभावमा झेल्नु परेको सुख दुःखको कथा चलचित्रमा हेर्न पाइन्छ ।

निर्देशकीय पक्ष
सधै भूईमान्छेको कथा चलचित्रको पर्दामार्फत भन्न रुचाउने निर्देशक राजबहादुर सानेले राम्रो प्रयास गरेको भए पनि ठाँउ ठाँउमा चिप्लेका छन् । चलचित्रमा सिनेमेट्रिक लिवर्टीलाई भन्दा भावनालाई धेरै ठाँउ दिइएको छ । दृश्यमार्फत कथा भन्ने शैली परम्परागत नै छ ।

सवल पक्ष
चलचित्रको राम्रो पक्ष कथालाई सलल बगाएर पर्दामा देखाउनु नै हो । पटकथा र संवादमा राजबहादुर र प्रदिप भारद्धाजले थप मेहनत गरिदिएको भए हुन्थ्यो भन्ने महसुस चलचित्र हेरिहँदा गर्न सकिन्छ ।
कथा प्रस्तुती र अभिनयका कारण बेला बेलामा हाई काट्ने ठाँउ दिइएको भए पनि चलचित्र हेरिरहँदा निन्दा भने लाग्दैन ।


निर्देशक सानेले चलचित्रको कथाका दश घुम्ती घुमाएर चलचित्र अघि बढाएका छैनन् । सामान्य परिस्थितीबाट अघि बढेको कथा भन्न खोजेको कुरा प्रष्ट बुझिने गरेर सलल बगेको छ ।
निर्देशक सानेले दृश्यभाषालाई झन् फराकिलो बनाउन सक्ने ठाँउ राखेका छन् । संवादलाई भन्दा पार्ससंगीत, क्यामेरा र प्रकाशको सहारा लिएर कथा भन्न खोजेका छन् । तर त्यो प्रयोग पर्याप्त छैन ।
तुलनात्मक रुपमा बलियो कथा र केही कलाकारहरुको बलियो अभिनय चलचित्रको सशक्त पक्ष हो ।

कमजोरी
रोल्पालीलाई सिटामोल नै सुन सरह हुने सन्देस बोकेको चलचित्रमा सिटामोलको सन्दर्भ मिल्दो गरेर राखिएको पाइदैन । चलचित्रको शिर्षक किन सिटामोल राखिएको होला भनेर प्रश्न मनमा आइरहन्छ ।
कतिपय गम्भिर घटनालाई हल्का रुपमा पर्दामा उतारिएको छ । चलचित्रमा तारा हराउदाका क्षणलाई सिनेमेट्रिक फर्मुलाको प्रयोग गरिएको छैन । चलचित्रमा विभिन्न मसलेदार हास्यरस मिसाइएको छैन । द्वन्द्व छैन ।

चलचित्र हेरिरहँदा ठाँउ ठाँउमा विरामी चन्द्रको खुट्टा एकाएक कसरी निको भयो ? हरेक दिन गोल्डेन साहू ऋण फिर्ताको दबाब दिए पनि पैसा कमाए पनि किन तिरिएन । साहूले फेरि किन ऋण मागेन । ताराको कथा अधुरै छोडेर चलचित्र किन अन्त्य भयो ? जस्ता प्रश्न मनमा आइरहन्छ, उत्तर पाइन्न । चलचित्र भावनामा बगाउन निर्देशकले मेहनत गरेका छन् तर धेरै ठाँउमा ‘चिनी धेरै खाँदा तितो’ भए झैं लाग्छ । चलचित्रले माओवादी युद्धलाई जोडे पनि युद्धमा होमिनुको अर्थ भेटिन्न । जीवनभर युद्धले दिएको पिडालाई परिभाषित नगर्दा खल्लो महसुस हुन्छ ।

प्रविधि
चलचित्रमा अनुभव हुनेगरि प्रविधिको प्रयोग गरेको भने पाइदैन । दिव्यराज सुवेदीको क्यामेरा एंगल औसत राम्रो छ । बन्देप्रसादको सम्पादनमा खोट लगाउने ठाँउ छैन । कविराज गहतराजले सौगात र वेनिशालाई नयाँ नयाँ स्टेपमा नचाउने कोशिस गरेका छन् । सजन श्रेष्ठको भेषभूसा,वावुल गिरीको संगीत र राजेन्द्र मोक्तानको रंग संयोजन भूमिका सामान्य नै छ । मुकेश शाहको विजिएमको खासै प्रभाव छैन । मनोज श्रेष्ठको भिएफएक्स अनुभव गर्ने ठाँउ भेटिन्न ।

सौगात मल्ल ‘चन्द्र’
अभिनेता सौगात मल्लले सिटामोलमा फरक पात्रलाई दुरुस्त उतारेर चरित्र निर्माण गरेका छन् । उनी चरित्रमा भिज्न पात्रको परिरिस्थितीलाई जस्ताको त्यस्तै देखाउन मेहनत गरेको देखिन्छ । धेरै इमानदार युवकहरु सधै प्रयोग हुन्छन् भन्ने सौगातले आफ्नो अभिनयमार्फत बुझाउन सफल छन् ।
अपाङता भएको मानिस र जनयुद्धको दृश्यमा सौगातको अभिनय शिल्पको राम्रो उपभोग गरेका छन् । यद्यपी ठाँउ ठाँउमा सौगातको अभिनय अलि ओभर एक्टिङको महसुस गर्न सकिन्छ ।

वेनिशा हमाल ‘तारा’

एउटी महत्वाकाँक्षी र चुलबुले युवतीको भूमिकामा वेनिशाले राम्रो अभिनय गरेकी छिन् । पैसा भनेपछि हुरुक्क हुने धेरै युवतीहरुको चरित्रलाई उनले दुरुस्तै पर्दामा देखाउन सफल भएकी छिन् । परम्परागत हिरोइनको भूमिकामा अभिनय गर्ने नेपाली अभिनेत्रीका लागि वेनिशाको यो भूमिका नयाँ पाठ हुनसक्छ कि हिरोइनले यसरी पनि चलचित्रमा अभिनय गर्न सक्छन् भनेर ।
यद्यपी वेनिशाले चरित्रमा पुरै डुवेर अभिनय गरेको भने पाइदैन । उनले थप मेहनत गर्न सक्ने ठाँउ भने बाँकी राखेकी छिन् ।

लोकेन्द्र लेखक ‘गोल्डेन साहू’
सधै फरासिलो पात्रलाई टपक्क टिपेर पर्दामा देखाउन सक्ने क्षमता भएका कलाकार लोकेन्द्र लेखकको अभिनय सिटामोलमा छोटो तर सटिक छ । गाँउले जीवन भोग्नेहरुले जहाँ त्याही भेटिने लुच्चो पात्रको रुपमा लोकेन्द्र लेखक ‘गोल्डेन साहू’को सामान्य चरित्रलाई बोकेर पर्दामा उत्रेका लोकेन्द्र लेखकले ‘गोल्डेन साहू’को चरित्रलाई औसत रुपमा पर्दामा देखाउन सफल छन् ।
चलचित्रमा वालकलाकार करण नेपाली ‘ताराचन्द्र’को आलोकाँचो अभिनयले बोर लाग्छ । अर्की वालकलाकार आराध्या राज्यलक्ष्मी डिसी ‘शालु’ले बोलेको संवादमा बड्डा शव्दले दर्शकको ध्यान तान्न सफल छिन् । तर अभिनय भने मौकि लाग्देन । श्रीकृष्ण निरौला र जानुका विश्वकर्माको अभिनय पनि फितलो महसुस हुन्छ ।

अन्तमा,
नेपाली माटोको मौलिक कथामा विरलै चलचित्र बन्ने गरेका छन् । तर यस्तै चलचित्रहरु दर्शकको मनमा बसेको पाइनछ । नेपाली परिवेसभित्र आफ्नोपन मिसाएर अभिनय गर्न सिपालु कलाकारहरुलाई कास्ट गर्ने चलचित्रहरु सफल देखिन्छन् ।
चलचित्र सिटामोललाई एउटा ‘मास्टरपिस’ चलचित्र चलचित्र बनाउन निर्देशकको सही भिजन देखिन्छ । थुप्रै कमजोरीबीच नेपाली माटोको कथा र परिवेसमा मौलिक कला प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।