काठमाडौं
दशैंको छेको पारेर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘बलिदान’को टिजरमा द्वन्द्वका अनेकौं दृश्य रहेको पाइएको छ ।
निर्देशक सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको संवादले चलचित्र राजनीतिक विषयबस्तु समेटिएको अनुमान गर्न सकिन्छ । टिजरको एउटा दृश्यमा बहुदलीय गठबन्धनको बृहत आमसभा लेखिएको व्यानरले समेत चलचित्र राजनीतिक विषयवस्तु रहेको संकेत गरेको छ ।
चलचित्रको टिजरमा निर्देशक सेन आदीबासीको भेषमा अभिनय गरेको दृश्य देखिन्छ । चर्चामा रहेका अभिनेता समिर भट्ट भाला लिएर युद्ध मैदानमा छन् ।
चलचित्रको टिजरमा अभिनेत्री ऋषा शर्मा कालीमाताको विशाल मूर्ति अगाडि शसक्त संवाद बोलिरहेकी छिन् । टिजरमा उनी विल्कुलै फरक भूमिकामा रहेको दृश्य छ ।
यस वर्षको बडादसैँको फूलपातीको दिनबाट प्रदर्शन सुरु हुने चलचित्रमा अभिनेता सौगात मल्ल मसाल बोकेर साथ उभिएका देखिन्छन् । अभिनेता हेमन्त बुढाथोकीको बोल्ड आवाज गुन्जिएको छ उनी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन् ।
टिजर सार्वजनिक गर्दै चलचित्रका निर्देशक सन्तोष सेनले ’बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताएका छन् । उनले भने, “तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ’बलिदान’ अब केवल चलचित्र होइन, यो न्यायको विस्फोट हो।“
पछिल्लो समय चलचित्रको निर्माण पक्षले चलचित्रको प्रचारलाई तीब्र बनाउन देशैभर ब्यानरहरू टाँगिरहेको छ ।
‘आसुसेन फिल्म्स प्रा. लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।








प्रतिक्रिया