ललितखबर/ललितपुर
सानो पर्दाको चलचित्र भित्रको एउटा सामान्य पात्र माग्नेबुढा । नेपाली दर्शकमाझ माग्नेबुढा परिचित छन् ।
माग्नेबुढाको चरित्र ठूलो पर्दामा माग्नेराजाको उपमा उदय भएको छ । उत्तरी मकवानपुर र दक्षिण ललितपुर आसपास जन्मे हुर्केका केदार घिमिरेको पृष्टिभूमि सम्झाउने चलचित्र माग्नेराजा आजकल चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
एउटा माग्ने जीवनको कथामा उनले अभिनय गरेको पात्रलाई चलचित्रलाई उठान गरिएको छ । गाउले पात्र माग्नेको रोचक जीवनशैली र करोडौं मालिक बनेको सम्पन्न माग्नेराजाको रमाइलोकथा आजकल चर्चामा छ ।
कथासार
आफ्ना वावुको ऋणको भारीले थिचिएको कुवेर शर्मालाई गाँउमा बाँच्न मुस्किल छ । उसलाई त्यो गरिवीबाट फुत्कन अनेकौ हर्कत गरिरहेको छ । एक्कसी एक दिन उनले अरवौं पैसा पाउछ । धेरै पैसा आएपछि कुवेरको जीवनमा आउने उतारचढाव र रमाइलो चलचित्रमा देखाइएको छ । चलचित्रमा गाँउले जीवनभित्रको सरलतासँगै शहरिया जीवनका कठीन परिस्थिती देखाइएको छ ।
निर्देशन
सधै भावुक बनाउने चलचित्र निर्देशन गरिरहेका ऋषि लामिछानेले एउटा रमाइलो चलचित्र बनाउने जमर्को गरेका छन् । फरक सिनेमा बनाएर दर्शक हराउने उनको प्रयास राम्रो छ । उनले गीतसंगीत, द्वन्द्व र प्राविधिक पक्षहरुलाई बलियो बनाएका छन् ।
सुन्दर पक्ष
पैसा कमाउनु गरिवहरुको रोचक विषयमात्रै होइन सबैको सपना हो । आम मान्छेयही पैसाको पछि दौडिएका छन् । सबै मान्छेहरुको रुचिकर विषय पैसालाई चलचित्र माग्नेराजाले रोचक ढंगले पर्दामा देखाएको छ ।
माग्नेराजाको सुन्दर पक्ष प्रभावशाली कथा हो । अघि बढाइएको चलचित्र माग्नेराजा हेर्न हलमा बसेको दुई घण्टा २९ मिनेट वितेको पत्तै हुँदैन ।
हास्यकलाकार समेत रहेका केदार घिमिरेले पेट मिची मिची हँसाउदैनन् । रमाइलो भने लाग्छ ।
चलचित्रले राजनीतिमा जनताका लागि शासन गर्छु भन्नेहरुको भ्रष्ट बदमासीलाई प्रष्टसँग देखाएको मात्रै छैन समाधानको उपाय समेत सिकाएको छ ।
मिठो कल्पनाशिलतामा बुनिएको कथा श्रृखलामार्फत चलचित्रले मनोरञ्जनमात्रै दिएको छैन गतिलो शिक्षा समेत दिएको छ । चलचित्रले वर्तमान राजनीतिक बेथितीमाथि गतिलो झापड हानेको छ ।
कमजोरी
रंग पत्रकार तथा समिक्षक सामिप्यराज तिमल्सिनाले लेखेको कथामा थुप्रै कमजोरी देखिन्छ ।
गाँउमा अलपत्र आमालाई चलचित्रको कथामा उठान गरेर अलपत्र पारिएको छ । पिए वर्षाको व्याईफ्रेण्डसँगको सम्बन्ध मात्रै छैन एकै पल्ट फरक रुपमा गृहस्थ जीवनमा देखिदा धेरै कथाहरु गायव पारिएको छ । उता धनबहादुर हामदामको राजनीतिको कथा अधुरै छ । धोकेबाज साथी विल्सनको नियत मात्रै हराएको छैन बदला र कमाउधन्दाको चुरो कुरा समेत बेपत्ता पारिएको छ । चलचित्र एकोहोरो कुवेर शर्माको पैसाको पछि दौडिएको छ ।
सिक्वेल बनाउने लोभमा केही रोचक कुराहरु छोडेर अन्तम क्षणहरु खल्लो बनाइएको छ ।
चलचित्रभर केदार घिमिरे अर्थात कुवेर शर्मा यत्रतत्र देखिन्छन् । चलचित्रको कथा दायाबाया नहेरि कुवेर शर्मातिर एकोहोरो दौडाइएको छ । दर्शक उनलाई हेर्दा हेर्दा हैरान हुन्छन् ।

चलचित्रको कथाको लहर ‘छक्का पञ्जा’ सिक्वेलबाट प्रभावित छ । विजिएममा सुनिने ‘माग्ने हो माग्ने’ त छक्का पञ्जाको ‘राजा हो राजा’बाट ठ्याक्कै चोरिएको छ ।
माग्नेराजाको संवाद मात्रै ठट्यौली पाराको छ । उनीसँगै अरु पात्रले हँसाउदैनन् । खल्लो लाग्छ ।
मध्यान्तरअघि कुबेर शर्मा धनी बनेपछिका चलचित्रको कथा निकै सुस्त छ । मध्यान्तरपछि चलचित्रको कथा दौडाइएको छ । कथा एक रफ्तारमा अघि नबढ्दा लयबद्ध छैन ।
कथा भन्ने शैली पनि परम्परागत देखिन्छ । पात्रहरु चर्को स्वरमा बोलिरहेका छन् । संवादभन्दा पनि क्यामेरा मुभमेन्ट, प्राकृतिक आवाज, संगीतआदिको सहारा लिएर दृश्यभाषा खासै प्रयोग छैन ।
लभस्टोरी,क्राइम थ्रिलर,एक्सन विधाका चलचित्र मन पराउने दर्शकका लागि माग्नेराजा उपयुक्त नलाग्न पनि सक्छ । रैथाने कथालाई महत्व दिएर निर्माण गरिएको चलचित्रभित्र ठाँउ ठाँउमा संवादमा समस्या देखिन्छ विभेदकारी शव्द ‘…वान’को प्रयोगले चलचित्रको ओज घटाएको छ । कुनै ठाँउमा संवाद सेन्सर गरिएको छ तर चलचित्र भित्रै सोही शव्द विना सेन्सर खुलामखुल्ला बोलेको सुनिन्छ ।
चलचित्र हेरिहँदा ‘छक्का पञ्जा’का धेरै कुरा मिसमास गरेको आभाष हुन्छ । छक्का पञ्जाको राजा चरित्रलाई माग्नेसँग जोडेर उस्तै हर्कतहरु देखाइएको छ ।

केदारप्रसाद घिमिरे ‘कुवेर शर्मा’
अभिनेता केदार घिमिरे चलचित्रको हिरोको डेव्यु कमजोर देखिन्छ । उनले ‘माग्नेराजा’मा आफूलाई फरक चरित्र र अभिनयशिल्प प्रस्तुत गरेको पाइदैन । उनी छक्का पञ्जाको सहनाई बजाउने पियन, सुकुम्बासी र लमीकै अर्को रुपमा देखिएका छन् । भेषभुसा डिजाइनर लेक्स बसुकलाले बनाएको कपडा लगाएर संवाद भट्याउनु शिवाय उनले अरु नयाँ काम गरेको देखिन्न । उनको अभिनय शैली टेलिचलचित्रको जोकर पात्रभन्दा भिन्न छैन । अभिनेता घिमिरे पात्र र कथाले मागेको फुर्तिफार्ती देखाउन मेहनत गरेका छन् । कथाले उच्च मनोवल भएको युवकको कथा भन्न खोजे पनि ठाँउ ठाँउमा उनी लुम्रे र कमजोर अभिनय देखिएको छ । उदाहरणका लागि ‘पैसामा सुतेर उठेको’ गीतमा उनको अभिनयमा जोस नै भेटिन्न । संवाद बोलिदिएको जस्तो मात्रै देखिन्छ ।

वर्षा सिवाकोटी ‘श्री’
छोटो श्री पात्रको रुपमा चलचित्रमा देखिएकी वर्षाको रोजगारीका लागि एक घनी पुरुषको पिए बन्नु परेको बाध्यतालाई चलचित्रमा दुरुस्तै देखाएकी छिन् । वर्षाको अभिनय र हाउभाउबाट कथाले मगेको चरित्रलाई उस्तै बनाउन मेहनत गरेको देखिन्छ । अभिनेत्री बर्षाले पात्रको मनोदशा बुझेर आफ्नो अभिनय फरक बनाएकी छिन् । उनको अभिनय औसत राम्रो देखिन्छ ।

विल्सन बिक्रम राई ‘विदुर’
एउटा स्वार्थी आफन्त(मामा) विदुर पात्रमा अभिनय गरेका विल्सन बिक्रम राई चलचित्रमा सामान्त कलाकारको रुपमा देखिन्छन् । उनले आफूले खेलेको चलचित्रको संख्या बढाउने बाहेक खास नयाँ खास केही देखाएका छैनन् ।

शिशिर वाङ्देन ‘धनबहादुर हामदाम’
चरित्रको हिसावलाई शिशिर वाङ्देन धनबहादुर हामदाम ठ्याक्कै खलपात्र त जस्ता छैनन् । गाँउटोलतिर भेटिने नेतागिरी गरेर फुर्ति लगाउन पल्केका आजकलका नेतामा उनको उपस्थिती छ । सधै फुर्तिलो गुण्डाको भूमिकामा देखिएका वाङ्देनलाई यो भूमिका कता कता मेल खाएको छैन जस्तो लाग्छ । तर पनि उनले जसोतसो अभिनय गरेका छन् ।
छक्का पञ्जाकी कालीबुढीको चरित्रमा देखिएकी शारदा गिरी माग्नेराजामा उस्तै बनाएर देखाइएको छ । युट्युवर राधिका कँडेलको अभिनय सञ्चारकर्मीजस्तै लाग्छ । पवित्रा साकी पिस पविको सुदुरपश्चिमको प्रश्न गर्ने शैली र कुवेर शर्माको काँठे भाषाको संवाद वाइयात लाग्छ ।
प्रविधि
चलचित्रमा नरेन्द्र मैनालीले असाध्यै राम्रो क्यामेरा चलाएका छन् ।
संगीत पक्ष बलियो छ । सानोतिनो द्वन्द्वको दृश्य रमाइलो पारामा देखाइएको छ । मनोरञ्जन श्रेष्ठको रंग संयोजन,मित्र डि गुरुङको सम्पादन,रोसन श्रेष्ठको द्वन्द्व औसल लाग्छ । एलेक्स बासकोटाले कलाकारहरुको चरित्र खुल्ने भेषभुसा डिजाइन गरेका छन् । सुजिल कर्माचार्यको भिएफएक्स सामान्य देखिन्छ । सुजल बडालको डविङमा समस्या भेटिन्न ।
अन्तमा,
काल्पिनिक कथामा बन्ने चलचित्र मनोरञ्जनको साधन मात्रै होइन एउटा युगको प्रतिनिधित्व गर्ने दस्तावेज पनि हो । चलचित्रको कथाले जीवन र जगतको कथासँगै उपयोगी पाठ पढाइरहेको हुन्छ ।
माग्नेराजाले भताभुंग नेपाली समाजको कथा बोलेको छ । आम भूईमान्छेको व्यथा ओकलेको चलचित्रमा हाम्रो वरपर भेटिने आफ्ना मान्छेहरुको मनोदशा प्रष्टसँग देखाइएको छ । चदचित्र हेरिरहँदा धेरै कमजोरी खुट्याउन सकिन्छ तर यही भित्र हामी बसेको समाजको प्रष्ट तस्विर देखिन्छ । चलचित्रले भताभुङ समाजभित्रको बेथिती उजागर गरेको छ ।








प्रतिक्रिया