ललितखबर
नेपाली चलचित्र क्षेत्रमा अनौठो संस्कार छ । एउटा चलचित्र सफल भएपछि त्यसकै पछि लाग्ने ।
कछुवा गतिमा अघि बढिरहेको नेपाली चलचित्र क्षेत्र लुट प्रर्दशनपछि गति लियो । त्यसपछि एक्सन विधामा चलचित्रको बाढी नै आयो । त्यसपछिका दिनहरुमा रावायणजस्ता चलचित्र फ्लप बने भने पिताम्बरजस्ता चलचित्रले लगानी उठाउन सके । कमेडी विधामा बनेको ‘छक्का पञ्जा’ सफल भएपछि कमेडी चलचित्र बनाउने लहर चल्यो । कबर्डी सिक्ेवेलपछि गाँउले जीवनलाई पर्दामा देखिउने सिको थुप्रै चलचित्रकर्मीले गरे ।
लिम्बु जाती र संस्कृतीको समिश्रणमा बनाइएको चलचित्र जारीले राम्रो कमाई गरेपछि अहिले गुरुङ संस्कृतीमा आधारित चलचित्र ‘रिमै’ निर्माण गरिएको छ । ‘रिमै’ उनै जारीका निर्देशकले लेखेकोले हुनसक्छ । यस चलचित्रमा उस्तै गन्ध आउँछ ।
कथासार
आशबहादुर गुरुङ अर्थात् ठागु (दयाहाङ)कतारबाट नेपाल फर्कदैछन् । यात्राको क्रममा कसैले उसको एउटा जुत्ता बसबाट झरिदियो । गाँउ पुग्दा एउटा जुत्ता हातमा बोकेर उनी लखरलखर बस्तीमा पुगे ।
वाल्यकालमै ठागुको विवाह धनरुपा(रिश्मा)सँग गुरुङ परम्परा अनुसार पक्का गरिएको थियो । उनी धनरुपासँग विवाह गर्न गाँउ फर्केको हुन् ।

खाली खुट्टामा गाँउ फर्केको हल्ला सुनेर गोरी(गैमाया)ले जुत्ता उपहार दिन्छिन् । यसैबाट थाहा हुन्छ गोरी ठागुलाई मन पराउछिन् । गोरी ठागु र धनरुपबीचको त्रिकोणात्मक प्रेम कथामा खच्चरबाट गाँउको आलु बोकाएर शहरमा बेच्ने गोविन्द धनरुपासँग पल्केको छ । चलचित्र यिनै चार पात्र वरिपरि घुमेको छ ।
कमजोरी
हुन त नेपाली संस्कृती र कलालाई चलचित्रको पर्दामा देखाउनु राम्रो कुरा हो तर कला, श्रृजना र प्रस्तुतीको आँखाबाट हेर्दा ‘‘रिमै’’ ‘जारी’जस्ता चलचित्रबाट प्रभावित छ । यो चलचित्र आम दर्शकका लागि नभई एउटा सानो समूहलाई ध्यानमा दिएर बनाइएको भान हुन्छ । हुन पनि हो सबैलाई संस्कृती र रितीरिवाजमा रुचि हुन्छ र यो विषय चलचित्रमा हेर्न चाहन्छन् भन्ने पनि हुँदैन । चलचित्र हेर्दा ठाँउ ठाँउमा गुरुङ संस्कृतीको विज्ञापनका लागि बनाइएको झै लाग्छ । परम्परा र संस्कृतीलाई रैथाने कथासँग जोड्दै लैजानेभन्दा पनि जीवनभरका चाल चलनलाई पर्दामा देखाएको छ । यस्ता दृश्यले दर्शकलाई डकुमेन्ट्री हेरिरहेको अनुभव हुन्छ । पैसा लिरेर हलसम्म आएकोमा पछुतो लाग्छ ।
मध्यान्तर अघि रोचक कथ्यशैली प्रस्तुत भए पनि पछिल्ला भाग रचिकर छैन । मध्यान्तरपछि चलचित्र सुस्त छ ।
सुन्दर पक्ष
करिव आठबर्ष अघि कबर्डीमा मैया पात्रबाट हराएकी रिश्मा गुरुङ ‘रिमै’मा धनरुपको रुपमा फेरि झुल्केकी छिन् । सुपरहिट कबर्डीकी पात्र मैयालाई फेरि पर्दामा हेर्न उत्सुक दर्शकका लागि यो सुखद खबर हो ।
साहित्कार उपेन्द्र सुव्वाको कथामा रैथाले कला संस्कृती र परम्परालाई कथासँगै सलल बगाइएका छन् । गाँउघरको चाल चलन र गुरुङ संस्कृतीलाई दुरुस्त प्रस्तुत गर्दा चलचित्रमा भिज्न दर्शकलाई गाह्रो पर्दैन । पटकथासँगै चलचित्रको संवाद(स्क्रिनप्ले) पनि चोटिलो छ ।
मध्यान्तरसम्म मिठो कथा र त्रिकोणात्मक प्रेमकथाले मनग्गे मनोरञ्जन दिन्छ । लेखक सुव्वाले चरित्रमार्फत द्वन्द्व श्रृजना गरेका छन् । सोझो ठागु, धोकेबाज धनरुपा, कपटी गोरी र केटी भनेपछि मरिहत्ते गर्ने गोविन्देजस्ता पात्रले दर्शक भुलाउन सफल छ ।

अभिनय
चलचित्रका पात्रहरुलाई न्याय गर्ने गरि कलाकारहरुले मिठो अभिनय पस्केका छन् । दयाहाङले ‘रिमै’मा अन्य चलचित्रभन्दा केही फरक काम गरेका छन् । आँखामा राखेपनि नबिझाउने असाध्यै सोझो चरित्रमा दयाहाङको अभिनयले मन तान्छ । हुन त चलचित्र फुलबारीमा ‘बलिहाङ’ पात्रमा उनले सोझो युवकको अभिनय गरेका थिए ।
कबर्डीकी मैया पात्र रिश्मा चलचित्र ‘रिमै’मा धनलक्ष्मी चरित्रमा उस्तै लाग्नसक्छ । तर उनको मोटो जीउडाल र अभिनयमा उत्तिको मेहनत देखिन्न । गोरी पात्रमा गौमाया अभिनय मिठो लाग्छ । तर उनको अभिनयशिल्पमा नयाँपन भने भेटिन्न ।
खच्चरे बनेर गाँउ डुल्ने गोविन्द पात्रमा अर्पण थापाको अभिनय औसत छ । माउत्से गुरुङ,पुस्कर गुरुङ,कविता आले र बुद्धि तामाङलगायत कलाकारहरुको अभिनय सदाबहार लाग्छ ।

कला तथा निर्देशन
चरित्रलाई प्राथमिकता दिने निर्देशक खिलबहादुर गुरुङको चलचित्र ‘रिमै’ उनले यसअघि निर्देशन गरेको चलचित्र मन्त्रभन्दा फरक देखिन्न । मन्त्रमा हिमाली संस्कृती समेटेका गुरुङले ‘रिमै’मा गुरुङ संस्कृतीलाई देखाएका छन् । नेपाली संस्कृती र चालचलन र रितीरिवाजमा रुचि हुनेहरुलाई चलचित्र मिठो लाग्न सक्छ, अरु दर्शकले मन पराउछन् भन्न सकिन्न ।
आफ्ना चलचित्रमा नेपाली जातीय परम्परा र संस्कृती र रितिरिवाजलाई मुल विषयबस्तु बनाउने निर्देशक गुरुङले कलात्मक पाटोलाई विर्सेका छन् । एकातिर पटकथाभित्र ठाँउ ठाँउमा कमजोरी छ भने बलियो संवाद नहुँदा कथ्यशैली भड्किएको छ । क्यामेरा, पार्शसंगीत, संगीत,श्रृगार र भेषभुसालगायत महत्वपूर्ण पक्षमा कला भेटिन्न । चलचित्रमा ठाडो भाषाको प्रयोग छ । प्राविधिको प्रयोगको हिसावमा पनि रिमै ज्यादै कमजोर देखिन्छ ।
प्रविधि
रवि पोखरेलले गुरुङ चरित्रलाई चम्किलो बनाउन पात्रहरुको जातीय भेषभुसामा थप मेहनत गरेको देखिन्न । मोहन सुनुवारले गाँउले अनुहार बनाउन श्रृगारको भरपुर उपभोग गर्न नसकेको देखिन्छ । शैलेन्द्र डि कार्कीले भ्यूफाइन्डरबाट हेरेका दृश्यहरु चम्किला त छैन् तर गाँउको सुन्दरता देखाउन मेहनत गर्न सक्थे कि ? सुदिप पाण्डेको रंग संयोजन,नवीन श्रेष्ठको ध्वनी,रोहित शाक्यको व्याकराउण्ड स्कोर र मित्र डि गुरुङको सम्पादनले चलचित्रलाई राम्रो बनाउन सघाएको छ । मौसम हिमालीको कोरियोग्राफी क्षमता दयाहाङ,रिश्मा र अर्पण थापाको नृत्यबाट देखिन्छ ।
अन्तमा,
थुप्रै कमजोरी र केही सम्भावना बोकेर प्रर्दशनमा आएको रिमै एउटा औसत चलचित्र हो । कथ्यशैली र प्रस्तुकीकरणसँगै कला र प्रविधिलाई सुधार गर्दै अघि बढ्न सके निर्देशक खिलबहादुर गुरुङले चलचित्रको बक्सअफिसमा राम्रो व्यापार बढाउन सक्ने सम्भावना बोकेका छन् ।
नेपाली संस्कृती र परम्पराबाट प्रेरित रिमैको अन्त्य तार्किक निष्र्कष पु¥याउन सकिएको छैन । सिनेमेट्रिक लिवर्टी, कलात्मक प्रस्तुतीको हिसावमा पनि कमजोर देखिन्छ । डकुड्रामा शैलीमा निर्माण भएको रिमैले सबै खाले दर्शकको मन तान्न सक्दैन ।
चलचित्र ‘रिमै’ जातीय भावनाबाट पे्ररित छ । परम्परा, रितीरिवाज अनि समाज र संस्कृतीको प्रचारका लागि एउटा राम्रो डकुमेन्ट्रीको स्तरमा निर्माण गरिएको देखिन्छ, चलचित्र ‘रिमै’ । निर्देशक गुरुङले परम्परागत चलचित्रभन्दा माथि उठाउन मेहनत गरेका छैनन् । ‘रिमै’ जारी, बुलाकीजस्ता चलचित्रको निरन्तरताको नमूना हो ।








प्रतिक्रिया