काठमाडौं । फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अहिले प्रचारप्रसारमा व्यस्त छ। बिहीबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्माता, निर्देशक र कलाकारहरूले चलचित्र किन हेर्नुपर्ने भन्नेबारे आफ्नो धारणा राखे।
ट्रेलर सार्वजनिक भएसँगै फिल्मको कथावस्तु जेनजी आन्दोलन र त्यसका मागसँग मिल्दोजुल्दो देखिएको चर्चा भएको थियो। सोही प्रश्नमा अभिनेता हरिवंश आचार्यले कथा गत वर्षमै तयार भएको स्पष्ट पार्दै, “यो संयोग मात्र हो, हाम्रो फिल्म तयार भइसकेको थियो, अहिले देखिएको परिस्थितिले हाम्रो विषय अझै सान्दर्भिक बनेको छ,” भने।
उनका अनुसार चलचित्र कमेडी शैलीमा बनेको भए पनि यसले भ्रष्टाचार, नातावादजस्ता गम्भीर विषयलाई छुन खोजेको छ। जेनजी आन्दोलनमा जुत्ता प्रतीक बनेझैं, ‘हरिबहादुरको जुत्ता’ पनि प्रतीकात्मक रुपमा निर्माण भएको उनले बताए।
दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन र वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपुतको संगीत निर्देशन फिल्ममा समावेश छ।








प्रतिक्रिया