२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारविरुद्धको नियोजित चरित्र हत्या बन्द गर्न प्रतिष्ठानको आग्रह



काठमाडौँ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा कलाकारहरूविरुद्ध भइरहेको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बिहीबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा केही राजनीतिक दलका प्रतिनिधि तथा व्यक्तिहरूबाट कलाकारहरूको सम्मानमाथि भइरहेको प्रहार तुरुन्त रोक्न आग्रह गरेका छन्।

हालैको जेन–जी आन्दोलनमा सहभागी र समर्थन जनाएका कलाकारहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा व्यापक रूपमा आलोचना भइरहेको छ। अभिनेता निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, हास्यकलाकार दीपकराज गिरीलगायतका कलाकारहरू आन्दोलनमा देखिएपछि उनीहरूका तस्वीर र भिडियोहरू शेयर गर्दै केही समूहहरूले आलोचना र टिप्पणी गर्दै आएका छन्।

कलाकारहरूले आफ्ना विचार र सामाजिक सरोकारका विषयमा आवाज उठाउनु नागरिकको अधिकार र जिम्मेवारी रहेको प्रतिष्ठानले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सरोकारका विषयमा बोल्नु अपराध होइन, यो सचेत नागरिकको नैतिक दायित्व र लोकतान्त्रिक अभ्यास हो।”

प्रतिष्ठानले आफूअनुकूल बोल्दा मात्र सहमति जनाउने र प्रतिकूल विचार राख्नेहरूलाई गलत ठहर्याउने प्रवृत्तिको निन्दा पनि गरेको छ। अध्यक्ष पाठकले भने, “कलाकार र सांस्कृतिक व्यक्तित्वहरू देश, समाज र जनताको भावनामा आधारित भएर बोल्छन्। त्यसलाई अपमान र अपराधको रूपमा प्रस्तुत गर्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो।”

विज्ञप्तिमा प्रतिष्ठानले चलचित्र क्षेत्रका सम्पूर्ण संघसंस्था, पेशागत संगठन र संघीय निकायहरूलाई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ। साथै, अनावश्यक टिप्पणी र अपमानजनक सामग्रीहरू विरुद्ध कानुनी उपचारको बाटो अपनाउन पनि सुझाव दिएको छ।

हाल सामाजिक सञ्जालमा कलाकारहरूलाई लक्षित गरेर भइरहेका अपमानजनक टिप्पणी, व्यंग्य र आरोप–प्रत्यारोपले चलचित्र क्षेत्रमा मनोबल घटाउने खालको वातावरण बनेको भन्दै प्रतिष्ठानले गम्भीर चिन्ता प्रकट गरेको छ।

प्रतिष्ठानले अन्त्यमा भनिएको छ, “कलाकारहरू देशका सांस्कृतिक दूत हुन्। उनीहरूलाई राजनीतिक आस्थाका आधारमा विभाजन र अपमान गर्ने कुनै पनि प्रयासको कडाइका साथ प्रतिवाद गरिनेछ।”

प्रेस विज्ञप्ति

विषयः कलाकारहरूलाई लक्षित गरी भइरहेको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासका
सम्बन्धमा ।

नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको छ । २०३६ सालको आन्दोलन देखी २०६२र६३ को जनआन्दोलनसम्म, कलाकारहरूले सदैव सामाजिक चेतना र परिवर्तनका आवाजलाई मुखरित गरेका छन् । त्यसैले, आजका कलाकारहरू सामाजिक आन्दोलनमा उभिनु इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति हो । कुनै अपराध होइन ।

हालका दिनहरूमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरू माथि जेन–जी आन्दोलनमा भएको उहाँहरूको सामाजिक अभिव्यक्ति र भौतिक उपस्थितिका आधारमा सुनियोजित रूपमा चरित्र हत्या गर्ने र अपराधीकरण गर्ने प्रयास भइरहेको प्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चहरूबाट कलाकारहरूलाई सामाजिक बहिष्कारको धम्की दिने, झुटो दोषारोपण गर्ने र अभद्र भाषा प्रयोग गरी नियोजित रूपमा बदनाम गर्ने कार्यको घोर निन्दा र भर्त्सना गर्दछौं । यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो । यदि सामाजिक सरोकारका बारेमा बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने, अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरू के अपराधी ठहरिनेछन् रु कलाकारहरूको सामाजिक सहभागितालाई अपराधीकरण गर्ने यो प्रयास गलत छ र यसले लोकतन्त्रको जगमाथि नै प्रहार गर्दछ । प्रदर्शनका क्रममा भएको क्षति वा घटनाको विषयमा छानबिन आयोग गठन भइसकेको सन्दर्भमा, आयोगको प्रतिवेदन आउनुअघि नै कलाकारहरू माथि गरिएको दोषारोपण र चरित्र हत्या कानुनी प्रक्रियाको अपमान र मानहानि पनि हो । न्यायिक निष्कर्ष नआई कुनै व्यक्तिलाई अपराधी ठहर्‍याउनु लोकतान्त्रिक न्यायसंस्कारको गम्भीर उल्लङ्घन हो ।

सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा केही राजनीतिक दल र केही व्यक्तिहरूबाट भइरहेको कलाकारहरूको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य तुरुन्त बन्द गरियोस् । सरोकारवाला निकायहरूले साइबर कानुनको प्रभावकारी कार्यान्वयन गरी यस्ता दुष्प्रचार रोक्न तत्काल हस्तक्षेपकारी भुमिका खेलुन् ।
कलाकारहरूलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट वञ्चित गर्ने कुनै पनि किसिमको नियन्त्रणको प्रयास बन्द गरियोस् ।

सामाजिक सरोकारका विषयमा बोल्नु अपराध होइनस सचेत नागरिकताको दायित्व र अनिवार्य अभ्यास हो । कलाकारहरू राष्ट्रको संवेदना र सामूहिक स्वर हुन् । उनीहरुका आवाजलाई कुनै पनि बहानामा बन्द गराउने अभ्यास कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।

आफू अनुकूल बोल्दा सहि र प्रतिकुल बोल्दा गलत मान्ने परिपाटीको निन्दा गर्दै कानुनी उपचारको बाटोमा लाग्न र पेशागत ऐक्यवद्धता जनाउन सम्पूर्ण चलचित्रसँग सम्बन्धित संघ संस्थाहरूलाई आह्वन पनि गर्दछौँ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान सम्पूर्ण कलाकर्मीहरूको पक्षमा दृढ रूपमा ऐक्यबद्ध छ । राज्य कानुनी मूल्यहरू प्रति निष्ठावान रह्यो भने, कला र अभिव्यक्ति स्वतन्त्रताको गला पटक पटक निमोठिने छैन र लोकतन्त्र अझै बलियो र समुन्नत बन्दै जानेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

के पी पाठक
अध्यक्ष
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान

 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शुक्रबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।