२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फोटो विवादपछि केदार घिमिरे ‘माग्ने बुढा’ले मागे माफी



काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा फोटो विवादित बनेपछि उनले सार्वजनिक रूपमा माफी मागेका छन्। ३ कात्तिकमा उनले फेसबुकमा एउटा फोटो पोष्ट गरेका थिए, जसमा हेलमेट लगाएका दुई युवायुवतीलाई ट्राफिक प्रहरीले रोकिरहेको देखिन्थ्यो। फोटोसँगै उनले क्याप्सनमा लेखेका थिए — “दुबैजनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुनसक्छ? अनुमान लगाउनूस।” साथै उनले ‘#ट्राफिक_नियम_पालना_गरौं’ र आफ्नो नयाँ फिल्म ‘#JerryOnTop’ ह्यासट्याग पनि प्रयोग गरेका थिए।

तर, केही समयमै उक्त फोटो विभिन्न पेज र प्रयोगकर्ताहरूले सन्दर्भविहीन रूपमा सेयर गर्न थाले। कतिपयले “धरानमा ट्राफिकले आफ्नी श्रीमतीलाई अर्कैको मोटरसाइकलमा भेटे” भन्ने जस्ता गलत दाबीसमेत गर्दै फोटो भाइरल बनाए।

घटनापछि विषयले अनावश्यक विवाद उत्पन्न गरेपछि घिमिरेले माफी माग्दै स्पष्टीकरण दिएका छन्। उनले भनेका छन्, “म उक्त फोटो जनचेतनामूलक सन्देशका लागि मात्र पोस्ट गरेको थिएँ। त्यसबाट कसैको मानमर्दन भएको भए म क्षमाप्रार्थी छु।”

फेसबुकमा उनले त्यस फोटोको ‘उत्तर’ पनि कमेन्टमार्फत दिएका थिए , “लुकिङ ग्लास लुज भएर फनफनी घुमिरहेको थियो।”

तर, धेरै प्रयोगकर्ताहरूले उनलाई आलोचना गरेका छन्। थोमस तेजु नामक प्रयोगकर्ताले लेखेका छन्, “समाजमा त्यसको प्रभाव के पर्छ भन्ने सोच्नुपर्ने हो। कलाकारिता ठीक छ, तर हर्कत उरेन्ठाउलो भयो।”

त्यस्तै, कृष्ण ढकाल लेख्छन्, “अरुको फोटो खिचेर फिल्म प्रचारमा प्रयोग गर्नु शोभनीय होइन। अनुमति बिना फोटो खिच्नु साइबर अपराध पनि हुन सक्छ।” माग्ने बुढाले भने भविष्यमा यस्ता गल्ती दोहोर्‍याउने छैनन् भन्दै सबैप्रति क्षमायाचना गरेका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।