काठमाडौं
छायांकन थालेको ४० दिनमा चलचित्र ‘परालको आगो’को छायांकन पुरा भएको छ ।
निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो चलचित्रको छायांकन मंगलबार पुरा भएको छ । चलचित्रको छायाँकन पुरा भएसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्विर र चलचित्रडेट समेत सार्वजनिक गरेको छ। यो चलचित्र आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए।
उनले भने,‘मैले अरु चलचित्र प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु चलचित्र पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो चलचित्र प्रर्दशन गर्ने तयारीमा छु।’
उनले साथी भाईको चलचित्रलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले चलचित्र नजुधाई दिन समेत आग्रह गरे।
उनले थपे,‘एकैचोटी धेरै चलचित्र हलमा निर्माता तथा हल ब्यावसायी हरुको पनि धेरै नोक्सानी हुन्छ। ग्यापमा आउंदा निर्माता र हल दुबैपक्षलाई फाईदा होस भन्ने सोचले सबै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।’
उनले चलचित्रको चार वटा गीत सहित सम्पुर्ण छायांकन पुरा भएको र चलचित्रडेट समेत तोकेको बताए। उनले जेनजी आन्दोलन चलिरहेको बेलामा यो चलचित्रको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको खटाईले काम चाँडो सकिएको बताए। उनका अनुसार यो चलचित्रको छायांकन सेड्युल ३० दिनको थियो। तर चलचित्रका कलाकार,टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन,वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता पोखरेलले जानकारी दिए।
‘परालको आगो’ हिमाली नयनाभिराम लोकेसनमा ४० दिन लगाएर नेपाली माटोको सुगन्ध आउने चलचित्रलाई ठुलो क्यानभासमा छायांकन गरेका छौँ। निर्माता पोखरेलले भने,‘काम पनि एकदमै उम्दा भएको छ। सौगात मल्ल,प्रकाश सपुत,सुहाना थापादेखि बाल कलाकार एन्जिला बानियाँसम्म एकदमै राम्रो काम गर्नु भएको छ।’साथै करिब ६०० जना जुनियर आर्टिष्टमा खर्च गरेर कठिन परिस्थितिमा पनि चलचित्रको राम्रो लोकेसन र कथाको मर्म अनुसार नै चलचित्रको काम गरेको बताए।
उनले थपे,‘अहिलेको समयमा कन्टेन नै बलियो हुनुपर्छ। हाम्रो कन्टेन नै बलियो छ र धेरै राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। चलचित्रका लागि सबै कुरामा कम्प्रमाइज गरेका छैनौँ।’
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो चलचित्रमा सौगात मल्ल,प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया रहेकी छन्।
यो चलचित्रलाई कलाकारहरुले आफ्नो भुमिकालाई सशत्त बनाउनका लागि काठमाडौंमा वर्कसप समेत गरेको थिए। त्यसैले पनि निर्माता पोखरेल यो चलचित्र राम्रो बनेकोमा ढुक्क देखिएका छन्।
सुशील देवकोटाको लेखन रहेको यो चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। यस चलचित्रमा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ।
गत भदौ २६ गतेदेखि म्याग्दीबाट छायांकन सुरु भएको यो चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने चलचित्रको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा लिएको यो चलचित्रको वितरण आर.आर चलचित्रस र ओटीटी राईट ओएसआरले प्रर्दशन पुर्व नै महंगो रकममा लिईसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गरेका थिए । जुन चलचित्र अत्याधिक सफल पनि भएको थियो।








प्रतिक्रिया