९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘कुमारी’ को प्रचारका लागि देशभर म्युजिकल कन्सर्ट



काठमाडौं । आउँदो माघ २३ गते रिलिज हुने प्रेम कथानक फिल्म ‘कुमारी’ को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिने भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन कन्सर्ट शृङ्खला सुरु गर्न लागेको हो।

कन्सर्ट शृङ्खलाअन्तर्गत माघ १ देखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम आयोजना गरिनेछ। सबै कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले लाइभ प्रस्तुति दिनेछन्।

युवा पुस्तामाझ अत्यन्त लोकप्रिय केहर र उनको ब्यान्डले फिल्मका गीतहरू लाइभमार्फत प्रस्तुत गर्ने भएकाले दर्शकको उत्साह थप बढ्ने अपेक्षा गरिएको छ। हालसम्म फिल्मका दुई गीत ‘कता छौ…’ र ‘तिमी बिना…’ सार्वजनिक भई चर्चा बटुलिरहेका छन्। कन्सर्ट सुरु हुनुअघि लोक लयमा आधारित अर्को गीत पनि सार्वजनिक गर्ने तयारी निर्माण समूहले गरेको छ, जसमा पनि केहरसिं लिम्बूको स्वर रहनेछ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको हो। यसले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ।

फिल्ममा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको ‘कुमारी’ का निर्माता महेन्द्र अधिकारी र कार्यकारी निर्माता केदार भुसाल हुन्। फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।