१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लालिमा’को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा



 

काठमाडौं

चुनावका कारण चलचित्री गतिविधि शून्यप्रायः रहेका बेला चलचित्र ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।

शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको चलचित्रतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस चलचित्रमा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।

चलचित्रमा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्टरुपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेमसम्बन्धमा रहेको बताउँछ ।

यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा चलचित्र बनेको ट्रेलरले संकेत गर्छ । ट्रेलरको अन्तिममा रोश्नी मानसिक समस्यामा परेको देखिन्छ ।

नायिका रोश्नी भन्छिन्, ‘हाम्रो चलचित्रले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’

अर्की नायिका उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । चलचित्रमा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ ।

ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् चलचित्रप्रति सन्सपेन्स छाडेको छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो चलचित्र वितरण गर्दै छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।