२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर


१० फाल्गुन २०७६, शनिबार  

0
Shares


१० फागुन ०७६, सिओल । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।
शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गर्नुभयो । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताउनुभएको छ । उहाँले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिनुभएको छ ।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एकम हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।