२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


खोप बनाउन चिनियाँ सरकारले दियो ५० करोड डलर


२२ मंसिर २०७७, सोमबार  

0
Shares


२२ मंसिर ०७७, बेइजिङ । (रासस–सिन्ह्वा) – कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ ।
सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । अहिले देशभर २ सय ८१ जना मात्र सक्रिय संक्रमित छन् ।
तर चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोनाभाइरस फैलाएको दोषबाट मुक्त हुन पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको छ ।
हङकङमा मेडिकल अनुसन्धान फर्मका रुपमा सूचीकृत सिनो बायोफर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ती प्रकाशन गरी कोरोनाभ्याकको विकास र उत्पादनका लागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ । सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो ।

चीनकै अग्रणी खोप निर्माता सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकम खर्च गरिने जनाएको छ ।
सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने जनाएको छ । सम्झौता बमोजिम सिनो बायोफर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत शेयर प्राप्त गर्नेछ ।
चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरुबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशी विद्यार्थीहरुले यो खोप लगाइसकेका छन् ।
कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको छ । गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण पुनः शुरु गरिसकेको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया र दक्षिण अमेरिकी मुलुकहरुमा जारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् । कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी र उनीहरुका परिवारका सदस्यहरुले खोप लगाइसकेको जनाएको थियो ।
चीनको अर्को भ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो ।
गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकहरुमा बेलायत पहिलो राष्ट्र भइसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ५६ बजे