१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्याङ्जामा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि



२७ असार ०७८, काठमाडौं । स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरुमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो । नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना सङ्क्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । सङ्क्रमितहरुमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले बताए ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । जिल्लामा पनि नयाँ भेरियन्टका सङ्क्रमित फेला परेपछि यहाँका वासिन्दा त्रसित भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।