
१० साउन ०७८, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली ६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली ६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए । पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए । घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।
छुट्टाछुट्टै दुर्घटनामा परी छ घाइते
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु १५ र कावासोती १ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ ।
शनिबार राति मध्यविन्द १५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको यस दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका ५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटाँैडा उपमहानगरपालिका ९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
शनिबार राति नै कावासोती १ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु३त ६२१५ नंको ट्र्याक्टर आफँै अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मध्यविन्दु ६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् । घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया