२६ पुस ०७८, काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक र सामाजिक कार्यक्रम गर्न रोक लगाएको हो ।
‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने,’ गृह मन्त्रालयको निर्णयमा भनिएको छ‘जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।
यस्तै, सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ ।
मन्त्रालयले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन जारी गरेको छ ।
प्रतिक्रिया