८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ विदेशमन्त्रीकाे आजबाट औपचारिक भेटवार्ता



तस्वीर सौजन्‍य : परराष्ट्रमन्त्रालय

१२ चैत ०७८, काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले औपचारिक भेटवार्ता आज दिउँसोबाट सुरु गर्ने भएका छन् ।
शुक्रबार अपराह्न ४ः४० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरे।
पाकिस्तान, अफगानिस्तान र भारत हुँदै चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आइपुगेका हुन्। परराष्ट्रमन्त्री डा। नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालकोे भ्रमणमा आएका हुन्।

शनिबार 
शिवपुरी हाइकिङ जाने
चिनियाँ विदेशमन्त्री वाङ शनिबार बिहान ६ बजे शिवपुरीमा हाइकिङमा जाने कार्यक्रम छ। उनी हाइकिङका सौखिन हुन्।

वाङ​ र मन्त्री खड्काबीच १५ मिनेट एक्लाएक्लै वार्ता
चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. खड्काबीच शनिबार दिउँसो ३ः३० देखि ३ः४५ सम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुनेछ।

सामान्यतः विदेशका परराष्ट्रमन्त्री नेपाल आउँदा समकक्षीबीच परराष्ट्र मन्त्रालय वा बाहिर कुनै होटलमा भेटवार्ता हुने चलन भए पनि यसपटक मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता हुन लागेको स्रोतले जनाएको छ।

वाङ र खड्काबीच प्रतिनिधिमण्डल स्तरमा भेट
परराष्ट्र स्रोतका अनुसार एकल भेटवार्तापछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच शनिबार अपराह्न ३ः४५ देखि ५ः४५ सम्म प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। यसपछि ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

केरुङ–काठमाडौँ  रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो। ​

प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्।

प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने
परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डल स्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्।

साँझ ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्।

लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हाे। ​

परराष्ट्रमन्त्री खड्काले रात्रिभोज दिने
परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।

आइतबार
आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसअघि उनी बौद्धस्थित हायात** पुग्नेछन्।

ओली र प्रचण्डसँग हायातमा भेट्ने
स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होटल हायातमा आइतबार भेट्ने कार्यक्रम छ।

बिहान ११:१० देखि ११:४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

अन्त्यमा प्रचण्डसँग 
चिनियाँ विदेशमन्त्री वाङले अन्तिममा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उनले ११:४५ देखि १२:१५ सम्म प्रचण्डलाई होटल हायातमा भेट्नेछन्।

स्वदेश फिर्ती 
चिनियाँ विदेशमन्त्री तीन दिनकाे नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री वाङ नेतृत्वको २५ सदस्यीय टोलीमा दुई जना चिनियाँ सहायक मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी छन्। सबै उच्चस्तरीय भेटवार्तामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी हुनेछिन्।

 

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।