
२७ चैत ०७८, काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा.शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् । नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका कांग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए ।
कांग्रेस भरतपुरमा ठूलो दल भएको उनको भनाई छ । उनले दुई तर्कलाई अघि सारेर कांग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेको जिकिर गरेका छन् । भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको कांग्रेस चितवनको बैठकले निर्णय गरेको थियो । हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी कांग्रेसी नेताहरूले दिँदै आएका छन् ।







प्रतिक्रिया