
१ जेठ ०७९, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई उछिनेका छन्।
आइतवार राति सवा ८ बजेसम्म ६ हजार ७७७ मत गनिसक्दा सुवेदीले दाहालभन्दा ३ मत धेरै ल्याउँदै अग्रता बनाएका हुन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले महानगर प्रमुखमा उठाएकी रेनु एमालेका विजयभन्दा तीन मतले पछि परेकी हुन्।
पछिल्लो मत परिणामअनुसार विजयले २४ सय ६८ मत ल्याएका छन्। उता रेनुले २४ सय ६५ मत ल्याएकीछन्।
उनीहरुलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ८०५ मतसहित पछ्याइरहेका छन्। तर एमालेको पकड रहेको भनिएको वडा नम्बर २ मा सोचे जस्तो भोट नआएको आकलन गरिएको छ। वडा नम्बर २ र ११ बाट अग्रता बनाउन सके जित्न सकिने एमालेको आकलन थियो।
२०७४ को स्थानीय तह निर्वाचनमा रेनु ४३ हजार १ सय २७ मतसहित भरतपुर महानगरको प्रमुखमा विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाएका थिए।
कांग्रेससँग तालमेल गरेर चुनावमा उत्रिएको माओवादी केन्द्रले प्रमुखमा झिनो मतान्तरले मात्रै जित हात पारेको थियो। तर, उपप्रमुखमा भने कांग्रेस नेतृ पार्वती शाह ठकुरी सहजै निर्वाचित भएकी थिइन्।
प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यलाई उनले साढे ७ हजारभन्दा बढी अन्तरले पराजित गरेकी थिइन्। शाहले ४७ हजार १ सय ९७ मत ल्याउँदा शर्माले ३९ हजार ५ सय २५ मतमा चित्त बुझाउनु परेको थियो। उपमेयरमा राप्रपाका तर्फबाट उम्मेदवार बनेकी रिना गुरुङले ७ हजार २ सय ५२ मत पाएकी थिइन्।







प्रतिक्रिया