८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मतपत्र हराएपछि सडक आन्दोलनमा



३ जेठ ०७९, सर्लाही । मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।

आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा एक हजार चार सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो ।

नाै वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएरातिनै लालबन्दी-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ ।

पाख्रिन चार सय ६० मतसहित विजयी भएका थिए । निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले चार सय ४४ मतमात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ ।

लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नाै मत कम देखिएको स्वीकार गरे । उनले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए । नाै मत कम भेटिँदासमेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । उक्त वडाको वडाध्यक्षमा माओवादीका उम्मेदवार १६ मतले विजयी भए पनि चारै जना वडा सदस्य एमालेबाट चयन भएका छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।