
१४ जेठ ०७९, काठमाडौं । धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना पत्रकार रहेको र बाँकी एक जना मात्रै अन्य व्यक्ति रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० का २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी–८ का २९ वर्षीय टेक विक, काभ्रेपलान्चोकको तिमाल–३ का ३३ वर्षीय उमेश भण्डारी, बझाङको खप्तडछान्ना–७ का धर्मराज थापा, गुल्मीको धुरकोट–२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर–११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेको प्रहरीले जनाएको छ ।
योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
बनाउन ल्याएको ल्यापटपमा फेला परेको भिडियोलाई हतियार बनाएर सात करोड बार्गेनिङ भएको आरोपमा सात जना पक्राउ परेको प्रहरीले दाबी गरेको छ।
सिनामंगलमा रहेको कम्प्युटर मर्मत केन्द्रमा पुगेको ल्यापटपमा फेला परेको भिडियोलाई देखाएर उनीहरुले रकम बार्गेनिङ गरेको प्रहरकिो दाबी छ ।
महाशाखाले उनीहरूमाथि योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्याद लिएको छ ।
पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।







प्रतिक्रिया