
६ पुस ०७९, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ ।
उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि आज सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । सर्वोच्चको आदेशसँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको छ । नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले अन्तरिम आदेश माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने जिकिर गरेका थिए ।
तर बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएका विवादहरुलाई सर्वोच्चको संवैधानिक इजलासले आज सुनुवाइ गरिरहेको छ ।
चुनावमा धाँधली भएको, मतगणनामा दोहोर्याउनुपर्ने लगायतमा माग गर्दै चुनावी परिणाममा असन्तुष्ट नेताहरुले सर्वोच्चमा दिएका रिटमा सुनुवाइ भैरहेको हो ।
दोहोर्याई मतगणना माग गर्नेमा रविदत्त मिश्र, उमाशंकर अरगरिया, गणेश पौडेल, विदेश्वर यादव, सुकेश्वर यादव, कालीप्रसाद शाक्य, सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादव छन् । पुनः निर्वाचनको माग गर्नेमा झलनाथ खनाल बलदेव रेग्मी कर्णबहादुर थापा र लालबहादुर थापा छन् ।







प्रतिक्रिया