९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल



१८ पुस ०७९, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक आयुक्तहरुसँग सामुहिक भेट गरेका हुन् ।

भेटमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, त्यसमा देखिएको नीतिगत जटिलता लगायतका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ । राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदैछ । कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तय गर्नुपर्ने व्यवस्था छ ।

त्यो व्यवस्थाअनुसार माघ २९ गतेभित्र नै राष्ट्रपति र उपराष्ट्रपति छानिसकिनुपर्नेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्छ ।

भेटमा प्रधानमन्त्री दाहालले तीनवटै तहको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयुक्तहरुलाई धन्यवाद व्यक्त गरेका छन् । भेटमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयका सचिवहरुसँग पछि छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्रालयहरुको अवस्था बारेमा जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने सचिवालयले जनाएको छ । यही पुस ११ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका दाहालले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।