
काठमाडौं १३ माघ । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।
दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिबीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो ।
एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उनको भनाइ थियो ।
उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेश गरेका थिए ।
पार्टी एकतासम्बन्धी प्रतिवेदनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल शुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए ।
बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रश्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
बिहीबारबाट शुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक १६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।







प्रतिक्रिया