काठमाडौं
२० फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदेश १ को नामाकरण कोशी राखिएकोमा आपत्ति जनाएको छ ।्
कोशी प्रदेश खारेज गरेर प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ कायम गर्नुपर्ने भन्दै फोनिजले ‘किरात लिम्बुवान प्रदेश’का लागि हुने शान्तिपूर्ण संघर्षहरुमा फोनिजको सदा ऐक्यबद्धता रहने जनाएको छ ।
संघीयताको मर्मविपरीत नामाकरण गरेको भन्दै पत्रकार महासंघले नामाकरणको विरोध गरेको हो । सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील प्रदेश नम्बर १ को नामाकरण संघीयताको मर्मविपरीत र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको भन्दै फोनिजले आपत्ति जनाएको हो ।
आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर कोशी प्रदेश नामाकरण गर्ने कदमको फोनिजले विज्ञप्तिमार्फत भर्त्सनासमेत गरेको छ ।
महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमार्फत फोनिजले पहिचानको प्रदेश माग्ने समुदाय, राजनीतिक समूह र सरोकारवालाहरूसँग कुनै परामर्शसमेत नगरी मतादेशको दम्भमा जारी गरिएको कोशी प्रदेशले कालान्तरमा बिखण्डनको वातावरण बन्नसक्ने आशंकासमेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुबीचको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने गरी कायम गरिएको प्रदेशको नामले कालान्तरमा बिखण्डनको बिउका रूपमा अंकुराउन सक्छ भन्ने हाम्रो गम्भीर आशंका हो ।’
२० फाल्गुन २०७९, शनिबार
12
Shares








प्रतिक्रिया