काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको हो ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’
शनिबार उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता हुँदै छ । राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने संवैधानिक प्रावधान छ ।








प्रतिक्रिया