२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र लेखनसँगै निर्देशनमा होमिदै रङ्ग पत्रकार



चलचित्रको समाचारलाई पाठकमाझ प्रस्तुत गरिरहेका ती अहिले आफैँ समाचार बनिरहेका छन् । नियमित बनिरहेको चलचित्रको तुलनामा उनीहरु फरक देखिएका छन्
१९ जेठ । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका रङ्ग पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । चलचित्रको समाचारलाई पाठकमाझ प्रस्तुत गरिरहेका ती अहिले आफैँ समाचार बनिरहेका छन् । नियमित बनिरहेको चलचित्रको तुलनामा उनीहरु फरक देखिएका छन् ।
समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामा आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’ को नेपालसँगै विश्वभर प्रदर्शनको तयारीमा छन् । कलाकार दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङलगायतको अभिनय रहेको चलचित्र राजनीतिक–सामाजिक विधामा निर्माण भएको छ । “एउटै मितिमा नेपालसँगै विश्वभर चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ, यो चलचित्रसम्म आइपुग्दा झनै परिपक्क भएको महसुस भएको छ”, निर्देशक लामाले भन् । उनी पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त छन् ।
पत्रकार हुँदै चलचित्र लेखक बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद–२’ गत वैशाखमा प्रदर्शन भयो । “प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ, समय मिल्दा र कार्यशैली मिल्ने समूह हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भने । उनी पत्रकारितामा समेत सक्रिय छन्
 ।
लेखक पौडेलझैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामीप्यराज तिमल्सेनाले बेलाबखतमा निर्देशनको प्रस्ताव आउने गरेको बताउछन् । “अफर त आइरहेको हुन्छ, तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भने, “अहिले चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”
अर्का पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन् । अहिले चलचित्र निर्देशन गर्ने उनको तयारी छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश चलचित्रको कथा लेखिरहेका छन् । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य ‘टिभी सो’को तयारी गरिरहेका छन् । चलचित्र निर्देशन केही समय थाती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।
‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदीले ‘सतीदेवी’ को छायाङ्कन सम्पन्न गरेका छन् । अभिनेत्री मलिका महतले शीर्ष भूमिका निर्वाह गरेकी चलचित्रमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, सुजिता शिवाकोटीलगायतले अभिनय गरेका छन् ।
पत्रकार फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ जेठ २६ मा प्रदर्शन हुँदैछ । “भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्य पुर्नमिलनका लागि गरेको प्रयत्नमा आधारित छ”, निर्देशक वलले भने ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।