३० जेठ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा पनि प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए ।
‘प्रेमगीत ३’ को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर ‘परस्त्री’लाई पनि त्यही प्रक्रियाबमोजिम अनुमति दिन लागिएको हो ।
बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले तीन हजार रुपैयाँ दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ ।
नेपाली चलचित्रको सुविधासरह ‘रिलिज’ हुने भएपछि परस्त्री (हिन्दी डब) ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताए ।
चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिए ।
कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् ।
निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाडौंमा करण श्रेष्ठ (जीजीए ग्रुप) र मोफसलमा अशोक शर्मा (डीसीएन) ले वितरण गर्नेछन् ।








प्रतिक्रिया