
असार २२ ०७६, ललितपुर । ताम्रकार समाज र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा संचालित सातौं गणेशमान सिंह सहकारी कप बुद्धिचाल कप प्रतियोगिताको उपाधि जनता सोकोसका सजिन महर्जनले हात पारेका छन् । फाइनल खेलमा उनले गोल्डेनगेट ईन्टर नेशनल कलेजका मिलन लामालाई पराजित गरी उपाधि स्वरुप दुईलाख चारहजार बराबरको यामाहा मोटरसाइकल हात पारे ।
बेष्ट अफ टुको आधारमा भएको फाइनल खेलको पहिलो खेलमा कालो गोटी लिएर सजिनले किङस् इन्डियन प्रणालीमा खेल सुरु गरेका थिए । २२ औं चालसम्म बराबरी रहेको खेलमा मिलनले २३ औं चालमा सजिनले गरेको गल्तिको फाइदा उठाउन सकेन र आफुले गल्ति गर्न पुगे । त्यसको फाईदा उठाउदै सजिन मिलन माथि हावि भए । त्यसपछि मिलनलाई तिव्र दवावमा राखि खेल त्याग्न बाध्य पारे ।
दोस्रो खेलमा बराबरी गरेर उपाधि हात पार्ने अभियानमा रहेका सजिनले मिलनको हरेक आक्रमनलाई बिफल बनाई खेलको २२ औं चालमा सजिनले सिपाही एउटा फाईदा गरे र मिलनलाई दवाबमा पारे । खेलमा तल परेपछि मिलनले सजिनले ३३ औं चालमा बराबरीको प्रस्ताव गरे । जसलाई मिलनले सहर्ष स्वीकारे । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उदियमान युवा खेलाडी मिलन लामाले दोस्रो स्थानमा रहेर रु ५० हजार हासिल गरे ।
पूर्वनेपाल च्याम्पियन शुभकामना साकोसका मदनकृष्ण कायस्थ तेस्रो स्थानमा रहे । उनले नगद ३० हजार पाए । तेस्रो स्थानको लागी भएको खेलमा उनले अर्थ साकोसका रिजेन राज भण्डारीलाई हराएका थिए ।
रिजेन्द्र चौथो स्थानमा रहेर २५ हजार नगद प्राप्त गरे । लिग कम नकआउटको आधारमा संचालन भएको खेलमा लिग तर्फको उपाधि नेपाल बुद्धिचाल संघले उपलब्ध गराएको छात्रवृत्तिमा रसियामा अध्यनरत अहिले बिदामा फर्केका फिडे मास्टर रुपेश जैशवालले हात पारी २५ हजार नगद पाउन सफल भए । उनले पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई निरास पारेका थिए ।
विनिता कपालीले साढे ५ अंक जोडेर महिला तर्फको उपाधि जितिन् । उनले सप्तरीका सिंगेश्वर दाससंग बराबरी खेलिन् । उनले १० हजार नगद पाइन् ।
प्रतिक्रिया