११ असोज ०७६,ललितपुर । काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०:०० बजे गाडीको हुटमुनी फल्सबटम भित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
यसै गरी सुवेदीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीमा बा५ ख ६९३९ नं को बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।
“भन्सार छलेर ल्याइएको लाखौंँको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक गिरीले बताउनु भएको छ ।
प्रतिक्रिया