१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा


१८ मंसिर २०७६, बुधबार  

0
Shares


१८ मंसिर ०७६,पाँचखाल । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो ।

पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक गस्ती गर्ने व्यवस्था गरेको हो । “नगरले बजार क्षेत्रमा सुरक्षा–गस्तीको माग गरेकाले सोहीअनुसार दैनिक रातको समयमा दुईपटक गस्तीको व्यवस्था मिलाएका छौँ”, सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले भन्नुभयो । उहाँका अनुसार पाँचखालको सुरक्षाका लागि १० देखि १२ जनासम्मको सशस्त्र प्रहरीको टोलीले दैनिक गस्ती गर्नेछ ।

पाँचखालमा सुरक्षा चुनौती थपिएपछि सशस्त्र प्रहरीको सहयोग मागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “पाँचखालमा जनपद प्रहरीको सङ्ख्या न्यून भएकाले रातको समयमा सशस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको हो”, खरेलले भन्नुभयो । उहाँले पाँचखालमा रहेको दमकल पनि सशस्त्र प्रहरीको सुरक्षामा राखिएको र उनीहरुकै जनशक्तिद्वारा आगलागी जस्ता दैवीप्रकोपमा सञ्चालन गरिने बताउनुभयो । पाँचखालको सुरक्षा थप मजबुत बनाउन हाल १० स्थानमा सिसी क्यामेरा राखिएको र थप सातवटा क्यामेरा थपिने ४ नं वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

यसैबीच, कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको बजेटमध्ये रु ५० लाख ५० हजारमा खरिद गरिएको दमकल सञ्चालनका लागि मङ्गलबारदेखि सशस्त्र प्रहरीलाई दुईदिने तालीमको आयोजना गरिएको छ । युकेस्थित डेभोन एन्ड सोमर्सेट फायर एन्ड रेस्क्युद्वारा सञ्चालित तालीममा सशस्त्र प्रहरीका २४ जनालाई विशेष तालीम दिइएको हो ।

तालीमका अवसरमा वारुण नियन्त्रणका क्रममा आवश्यक पर्ने थप उपकरण, लाइफ ज्याकेट तथा वारुण नियन्त्रक पोसाक रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको छ ।
–––

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : १७ बजे