१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्ण लगायत तीर्थमा श्राद्ध गर्न भीड


९ पुस २०७६, बुधबार  

0
Shares

गोकर्णमा तिर्थ भर्नेको भीड ।

९ पुस ०७६, ललितपुर । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण आमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिदादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गरेका छन् ।
प्राचीनकालदेखि नै पौषकृष्ण आमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहँदै आएको छ । आज सूर्योदयकालमा चतुर्दशी तिथि परेपनि ११ बजेपछि औँशी तिथि लाग्ने भएकाले तीर्थमा श्राद्ध आजै गर्नुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसवर्ष बुधबार र बिहीबार दुई दिन आमावास्या अर्थात् औँसी तिथि परेको छ । बिहीबार बिहान खण्डग्रास चन्द्रग्रहणसमेत लाग्ने भएकाले आजै पौषकृष्ण आमावास्याका दिनमा गर्नुपर्ने तीर्थ श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने जनाइएको छ ।
“यसपटक प्रत्येकवर्ष नियमित पौषकृष्ण आमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ, गत मङ्सिर २८ गते शनिबार पश्चिमबाट वृहस्पति (गुरु) अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ”–उहाँले भन्नुभयो ।

वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्नु नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन ।
यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो । यसैगरी पशुपतिलगायत तीर्थस्थलमा पनि आज तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ११ बजे