२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


यसरी खुकुलो हुँदैछ लकडाउन


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares

२० जेठ ०७७, काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले केही सेवा सञ्चालन नगर्ने, केही सेवा तत्कालै शुरु गर्ने र केही सेवा आगामी असार १ गतेबाट शुरु गर्ने गरी लकडाउनलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।
सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हाल कै अवस्थालाई कायम राखिएको छ । विगतदेखि नै सञ्चालन गरिएको अत्यावश्यक सेवालाई कायम राख्दै व्यापार व्यवसाय सञ्चालन तथा सर्वसाधारणको हिँडडुलमा सहजीकरण गरिएको छ । यस्तै उपत्यकाभित्र र जिल्लाभित्र चल्ने निजी सवारीमा जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । मोटरसाइकल र साइकलको हकमा एक जना मात्रै सवार हुनुपर्ने र निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै सवार हुन पाउने व्यवस्था गरिएको छ ।
आजैबाट सञ्चालन हुने सेवा
मन्त्रिपरिषद्को निर्णयअनुसार केही सेवा आजैबाट लागू हुने गरी सञ्चालन गर्न गर्न पाइने छ । जसअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एक जना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ ।
काठमार्डाैँ उपत्यकाको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर यसरी सवारी सञ्चालन गर्दा चालक बाहेक दुई जना मात्र राख्नुपर्नेछ । विगतदेखि नै सञ्चालन भएका फोहरमैैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार, हुलाकसम्बन्धी विगत कै सेवालाई कायम गरिएको छ ।
यस्तै नर्सरी तथा वनजन्य उद्यम, विकास आयोजना र निर्माण सेवा (निजी क्षेत्रको समेत) नदी तथा खानीजन्य उत्खनन्, सङ्कलन र ढुवानी तथा बिक्री वितरणलाई पनि सहजीकरण गरिएको छ । रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरिएको छ । क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन पनि सञ्चालन हुने छन् । यसरी सेवा शुरु गर्दा मास्क, सेनिटाइजर व्यवस्था आफैँले गर्नुपर्ने भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक सावुन पानीले हात धुनुपर्नेलगायत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
असार १ गतेदेखि सञ्चालन हुने सेवा
सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् ।
यस्तै सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था (दुई सिफ्टमा) सञ्चालन हुने छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत असार १ गतेबाट मात्रै सञ्चालन हुन पाउने छन् ।
उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।
सञ्चालन गर्न नपाइने सेवा

सरकारले मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने क्षेत्रको हकमा भने हालको व्यवस्थालाई नै कायम गरेको छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन । जसअनुसार शैक्षिक संस्था, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला पनि सञ्चालन गर्न पाइने छैन ।
यस्तै सञ्चालन नहुनेमा सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारी साधान छन् । जोरविजोर प्रणालीअन्तरगत उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी बाहिर जान नपाउने तथा बाहिरका नीजि सवारी उपत्यका भित्रिन नपाउने व्यवस्था छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ०३ बजे