१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


चमेराबारे रोचक जानकारी




लुम्बिनी
११ फागुन । चमेरा उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ ।
कपिलवस्तुका चमेरा संरक्षणकर्ता शम्भु सैनी भन्छन्, “चमेरो कुकुर, बिरालो, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै एक स्तनधारी प्राणी हो । विस्तारै यसको लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ ।” पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउनसक्ने उनको भनाइ छ ।
चमेरो संरक्षण समिति कपिलवस्तु नगरपालिका ३, देवानगढियाँका अध्यक्षसमेत रहेका सैनी भन्छन्, “चमेरोले लगाएका गुन त खासै थाहा छैन । तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको सङ्केत अवश्य गर्छ ।” नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन् । तर प्रोत्साहन र उचित कदरको खाँचो छ । चमेरोको संरक्षणका लागि एक हेक्टर वनमा अभ्यास सुरु गरिएको उनले बताए ।
पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन् । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ ।
दि न्यू योर्क टाइम्स (२०१८ को अप्रिल १७) मा प्रकाशित एक लेखमा चमेरोको बारेमा उल्लेख गरिएको छ । लेखमा चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण रहेको र यसको पर्यावरणीय महत्वका व्याख्या गरिएको छ । चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार चङ्गा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ ।
चमेराहरू विभिन्न रङ्गका हुन्छन् । विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन् । “रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पु¥याउँछ”, वन्यजन्तु विशेषज्ञ डा हेमसागर बरालले बताए ।
चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ । एउटा मांशहारी चमेरो र अर्को फलाहारी चमेरो । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्र्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांशहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । मांशहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ ।

वन्यजन्तु विशेषज्ञ डा बरालका अनुसार विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ । संसारमा ७० प्रतिशत मांशहारी र ३० प्रतिशत साहाकारी चमेरा भेटिएका छन् । “चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो । यसले वन जङ्गल जोगाउन र बिउबिजन परागसेचन गरेर फूललाई परागषेचन गर्नसमेत मद्दत गर्छ”, डा बरालले बताए ।
चमेरा पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन् । खासगरी फलाहारी चमेराले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको परागषेचन गर्नसमेत मद्दत गर्दछ । त्यसैगरी मांशहारी चमेराले मानिस र अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर मद्दत पु¥याइरहेको हुन्छ । एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो । चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ ।

चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दूरी पत्ता लगाउने प्रविधि विकास भएको मानिन्छ । समुद्र वा तालको गहिराइ नाप्न पनि यो प्रविधि प्रचलनमा छ । आकाशमा उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी ठम्याउने राडर प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ ।
चमेरोको खुट्टा तुलनात्मक रुपमा सानो हुन्छ । यसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन । त्यसैले चमेरो रूख, गुफालगायतका ठाउँमा टाउको तल पारेर बस्ने गर्छ । यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ । चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ गुफामा बढ्न थालेको नेपाल पक्षी संरक्षण सङ्घका वन्यजन्तुविद् भूपाल नेपालीको भनाइ छ ।
वन्यजन्तुविद् नेपालीका अनुसार चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ । आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ । उनी भन्छन्, “अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ, जसले चमेरालाई सिकार गर्न सहज बनाउछ । अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ । यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ ।”
चमेरो ४१ वर्षसम्म बाँचेको तथ्याङ्क छ । चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन् । एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ । प्रतिघण्टा ७० माइल उडान गर्नसक्ने चमेराले १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ ।
मानव ढुङ्गेयुगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको मानवशास्त्रीको भनाइ छ । वन्यजन्तुविद् नेपालीले भने, “चमेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, र बगैंचामा बस्न रुचाउँछन र त्यही गँुड बनाएर बच्चा पनि कोरल्छन् ।” गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतङ्ग, लामखुट्टेलगायत अनेकौँ ससाना प्राणी हुन् ।
एकातिर पुरानो र परम्परागत चमेरामैत्री घर नहुनु, रुख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमीको समस्या बढ्दै गएको छ भने अर्कोतिर यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने र धपाउने प्रवृत्तिले पनि चमेराको सङ्ख्यामा कमी आएको उनले बताए ।
एक अध्ययनले मोबाइल फोन र यसको टावरको विकीरणको कारणले पनि असर पारेको उनको भनाइ छ । सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको छ । चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन् । केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ । बढ्दो सहरीकरणले निम्त्याएको धुलो, धुवाँ, बिजुलीका तार र रूखबिरुवाको विनाशले गर्दा रुपन्देही, कपिलवस्तु र काठमाडौँलगायत सबैतिर चमेराको सङ्ख्या दिनदिनै घट्दो छ ।
(रासस)

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ३१ बजे