११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टी विभाजन हुन दिइन्न ः दाहाल


२८ असार २०७७, आइतबार  

0
Shares


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्धारा भरतपुरमा आइतबार आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीरः कृष्ण आचार्य

२८ असार ०७७, चितवन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।
कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिएका छन् । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए ।

हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उनले भने, “संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।” पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे ।

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले भने, “ हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।”

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : २० बजे