३१ असार ०७७, रौतहट । नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए ।
आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो ।
ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।
३१ असार २०७७, बुधबार
0
Shares
प्रतिक्रिया