१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपति क्षेत्रको वाग्मतीमा बढ्यो फोहर


२७ मंसिर २०७७, शनिबार  

0
Shares


२७ मंसिर ०७७, काठमाडौं । पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।
शङ्खमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतना जगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले राससलाई जानकारी दिनुभयो । माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत सो अवसरमा वितरण गरिएको थियो ।

विष्णुमती सफाइको ३२५औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ खुबिबुं क्षेत्रमा सफाइ गरिएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आएका छन् ।
नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी भने टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय भएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ ।
अहिले देशभर १ सय ६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान आगामी पुस २५ गते ४ सयऔँ हप्तामा प्रवेश गर्दैछ । त्यस अवसरमा विशेष कार्यक्रमको तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : ४९ बजे